उखु किसानलाई साढे ७६ करोड अनुदान वितरण

उखुखेती

काठमाडौं: सरकारले उखु किसानलाई अनुदानबापतको साढे ७६ करोड रुपैयाँभन्दा बढी वितरण गरेको छ । आठ जिल्लाका किसानको खातामा सरकारले ७६ करोड ६१ लाख ४२ हजार २ सय ९४ रुपैयाँ भुक्तानी गरेको हो ।

उखु क्रसिङ गरेका चिनी उद्योगबाट प्राप्त तथ्यांकका आधारमा किसानको खातामा सरकारले अनुदानबापत भुक्तानी गर्नुपर्ने प्रतिक्विन्टल ६५.२० रुपैयाँका दरले रकम जम्मा गरिएको कृषि मन्त्रालयले जानकारी दिएको छ । गत वर्ष उखु किसानलाई अनुदान दिनका लागि ८४ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका)मा ७७ करोड ९४ लाख ७७ हजार रुपैयाँ पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।

गत वर्ष सञ्चालनमा आएका १० चिनी उद्योगले एक करोड १९ लाख ४० हजार क्विन्टल उखु क्रसिङ गरेका थिए । मन्त्रालयका अनुसार कोलेनिकामा पठाइएको रकममध्ये पनि ७६ करोड ६१ लाख ४२ हजार दुई सय ९४ रुपैयाँ मात्रै किसानको खातामा पठाइएको छ । गत वर्षको उखु क्रसिङ गरेका किसानहरूको छुटफुट विवरण आइरहेकाले थप रकम किसानको खातामा पठाइने मन्त्रालयले जानकारी दिएको छ ।

दुई वर्षदेखि उखु किसानको खातामै सरकारले अनुदानबापतको रकम पठाउन थालेको हो । त्यसअघि सम्बन्धित उद्योगको खातामा सरकारले अनुदानको पैसा पठाउने र उद्योगीले किसानको खातामा उखु क्रसिङ गरेको परिमाणका आधारमा पठाउने व्यवस्था थियो । तर, धेरै उद्योगीले किसानलाई पैसा नदिई अनियमितता गरेको पाइएपछि सरकारले नै किसानको खातामा पैसा पठाउन थालेको हो ।

यो वर्ष भने सरकारले उखु किसानलाई ७० रुपैयाँ प्रतिक्विन्टल सरकारी अनुदान उपलब्ध गराउने गरी समर्थन मूल्य प्रतिक्विन्टल पाँच सय ९० रुपैयाँ निर्धारण गरेको छ । त्यसकारण यो वर्ष किसानलाई दिनुपर्ने अनुदानको रकम बढ्नेछ ।

सरकारी अनुदान लिनका लागि कृषि मन्त्रालयले देशभरका उखु किसानलाई आफ्नो स्थानीय तहमा विवरण पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
यसैबीच, सरकारले यो वर्षको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ । किसानको लागत मूल्य बढेकाले सरकारले निर्धारण गरेको मूल्यले किसानलाई राहत नहुने उखु उत्पादक महासंघको भनाइ छ । यसमध्ये चिनी उद्योगले पाँच सय २० रुपैयाँ प्रतिक्विन्टलका दरले भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । यो मूल्यमा किसानलाई भुक्तानी गरी उखु किन्न उद्योगीहरू राजी भएका छन् ।

उखु उत्पादन कृषक महासंघका अध्यक्ष कपिलमुनि ज्ञवालीले सरकारले निर्धारण गरेको मूल्यले उखु किसानलाई राहत नमिलेको बताए । अहिलेसम्म देशभर ४५ प्रतिशत उखु क्रसिङ भइसकेको उनले जानकारी दिए । गत वर्ष देशभर साना–ठूला १० वटा चिनी उद्योग सञ्चालन भएका थिए । ती मिलहरूले एक करोड १९ लाख ४० हजार तीन सय १९ क्विन्टल उखु क्रसिङ गरेको मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments