नमोबुद्धका किसानलाई कृषि सामग्री वितरण

बनेपा: काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिकाभित्रका किसानलाई खेती गर्नमा थप सहयोग प्रदान गर्ने उद्देश्यले किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ ।

फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाको चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण गरिएको हो ।

आयोजनाले नगरपालिकाभित्रका किसानका इलेक्ट्रिक स्पेयर ५० प्रतिशत अनुदान तथा अन्य सामग्री शतप्रतिशत अनुदानमा वितरण गरेको नगरपालिकाले जनाएको छ ।

जसअनुसार ८० सेट इलेक्ट्रिक स्पेयर, २५ थान थोपा सिँचाइ सेट, प्लाष्टिक पोखरी निर्माणका लागि २५ थान प्लाष्टिक सामग्री तथा तरकारी खेती नमूना प्रदर्शनीका लागि ४७ वटा प्लाष्टिक पोखरी निर्माणको सामग्री वितरण गरिएको छ । सो क्रममा आयोजनाले भकुण्डेबेँसीमा रहेको कृषि उपज सङ्कलन केन्द्रमा रहेका चारवटा स्टलका लागि तरकारी राख्ने १०० क्रेट वितरण गरिएको छ ।

प्राप्त सामग्री नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, कृषि समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष मेलबहादुर लामा, वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्यायलगायतले आयोजनाबाट प्राप्त सामग्री किसानलाई हस्तान्तरण गरेका छन् ।

नमोबुद्ध नगरपालिकामा सञ्चालन भइरहेको फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाअन्तर्गत चालु आवमा वडा नं ३ र वडा नं १० मा कृषि सिकाइ केन्द्र स्थापनाको काम अघि बढेको छ भने भकारो सुधार कार्यक्रम सम्पन्न भएको छ । सो आयोजनामा नगरपालिकाका सबै वडाका गरी १९ वटा किसान समूह आवद्ध छन् । आयोजनाअन्तर्गत नै नगरपालिकाको भकुण्डेबेँसीमा गत वर्षदेखि कृषि उपज सङ्कलन केन्द्रसमेत सञ्चालन गरिएको छ ।

प्राप्त कृषि सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख तिमल्सिनाले अनुदानमा प्राप्त सामग्रीको उचित सदुपयोग गरेर कृषि विकासको क्षेत्रमा योगदान दिन किसानलाई आग्रह गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पौडेलले विगतमा पनि कृषि सामग्री वितरण गरिएको र यसलाई आगामी वर्षमा पनि निरन्तरता दिने बताए । त्यससँगै आयोजनाबाहेक नमोबुद्ध नगरपालिकाले यस वर्षका लागि विनियोजन गरेको बजेटबाट पनि आवश्यक कृषि सामग्री वितरण गर्ने तयारी भइरहेको पौडेलले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments