किसानलाई ५० प्रतिशत अनुदानमा बङ्गुरका पाठापाठी वितरण

बङ्गुरपालन

वालिङ: स्याङ्जाको गल्याङ नगरपालिकाले एक हजार ७०० बङ्गुरका पाठापाठी वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा कल्लेरी कृषि सहकारी संस्थामार्फत बङ्गुरको पाठापाठी वितरण गरिएको हो ।

किसानको मागका आधारमा पहिलो चरणमा नगरपालिकाबाट रु. ५० लाख रकम विनियोजन गरिएको नगरप्रमुख भूपराज अधिकारीले जानकारी दिए ।

“किसानको माग, उत्साह साथै बङ्गुरपालनका दृष्टिले प्रचुर सम्भावना भएकाले व्यावसायिक उत्पादनतर्फ जोड दिनका लागि अनुदानस्वरुप पाठापाठी वितरण गरेका हौं”, उनले भने, “यस कार्यले बङ्गुरको मासु उत्पादन तथा पाठापाठीमा आत्मनिर्भर बनाउने हाम्रो अभियानलाई पूरा गर्नेछ ।”

यसवर्ष वितरण गरिएको बङ्गुरका पाठापाठीबाट आगामी वर्षमा दश हजार पाठापाठी तथा रु तीन करोड बढीको मासु उत्पादन हुने अपेक्षा नगरपालिकाको रहेको उहाँले बताए ।

“आगामी दुई वर्षमा दुई अर्बको बङ्गुरको मासु र पाठापाठी बिक्रीबाट आर्थिक लाभ लिने गरी अगाडि बढेका छौं”, उनले भने, “उत्पादित पाठापाठी तथा मासुको बजारीकरणको जिम्मा नगरपालिकाले लिन्छ, ढुक्कसँग बङ्गुरपालन व्यवसायमा लाग्नुहोस् ।”

किसानको मागका आधारमा नगरका एघार वटै वडामा बङ्गुरका पाठापाठी वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताए ।

बङ्गुरपालनलाई व्यवसायीकरण गर्दै मासु र पाठापाठी उत्पादनमा गल्याङ नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि बङ्गुरका पाठापाठीसँगै आवश्यक तालीम तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको उनले जानकारी दिए।

यस अभियानबाट नगरका करिब एक हजार किसान प्रत्यक्ष लाभान्वित हुने दाबी पशु शाखा प्रमुख सुशील अर्यालको छ । बङ्गुरका लागि निःशुल्क बीमा, खोप र जुकाको औषधिको पनि व्यवस्था नगरपालिकाले मिलाउने प्रमुख अर्यालले बताए ।

प्रतिबङ्गुर रु. छ हजारका दरले खरिद गरिएको बताइएको छ । यसका लागि किसानले ५० प्रतिशत अनुदान स्वरुप रु तीन हजारमा प्राप्त गरेका हुन् ।रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?