माछा र मासुको उत्पादन बढाउन ७० व्यावसायिक पशुपन्छी फार्मलाई अनुदान

सहुलियतपूर्ण कर्जामा युवाको बढ्दो आकर्षण

बागलुङ: बागलुङमा माछा र मासुको उत्पादन बढाउन साना व्यावसायिक फार्म प्रवर्द्धन कार्यक्रम शुरू गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र बागलुङले साना व्यवसाय प्रवर्द्धनको काम थालेको हो । सोही अनुसार जिल्लाभर चालू आर्थिक वर्षमा ७० व्यावसायिक फार्मका लागि अनुदान स्वीकृत भएको छ ।

पशु सेवा विज्ञ केन्द्रले व्यवसायीबाट आवेदन माग गरेर प्राथमिकताका आधारमा अनुदान दिन थालेको हो । ४९ ओटा फार्मका लागि अनुदान दिने गरी आवेदन माग भए पनि २६९ फार्मले आवेदन दर्ता गराएका थिए । तीमध्ये ७० फार्मलाई ५० प्रतिशत अनुदान सहायता दिन थालिएको विज्ञ केन्द्रका पशु स्वास्थ्य अधिकृत केशव पौडेलले बताए ।

स्थानीय कुखुरा २५०, लेयर्स कुखुरा ५०० र ब्रोइलर कुखुरा एक हजार पाल्ने किसानमात्रै यो कार्यक्रममा सहभागी छन् । यस्तै पन्ध्र माउ बाख्रा, बच्चा उत्पादन गर्ने बंगुर भए पाँच र मासुका लागि पालिएका बंगुर भए १० पालेका कृषि फार्मले अनुदान सहायता पाउनेछन् । छनोटमा परेका फार्मलाई एक लाख ५० हजारका दरले अनुदान उपलब्ध गराइने छ ।

विज्ञ केन्द्रले बागलुङ नगरपालिका–११ रायडाँडा, निसीखोला गाउँपालिकाको निसीगाउँ र काठेखोलाको लेखानीमा पशुपक्षी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याउँदै छ । हरेक गाउँका लागि आठ लाख अनुदान उपलब्ध गराइने पौडेलले बताए । ‘हामी नियमित तर फरक प्रकृतिका कार्यक्रम लिएर किसानको माझमा पुगेका छौं,’ विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले भने, ‘किसानका मागअनुसार कार्यक्रम पनि बनाइरहेकै छौं ।’ जिल्लाको काठेखोला गाउँपालिकाको पालामा भैंसी विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

कृत्रिम गर्भाधानमा प्रोत्साहन गर्दै नश्ल सुधार गरेर उत्पादन बढाउने कार्यक्रमसमेत कार्यान्वयनमा आएको छ । कृत्रिम गर्भाधानबाट जन्मेका पाडी–बाच्छी एक वर्ष हुर्काउने किसानका लागि मागका आधारमा १० हजार प्रोत्साहन रकम दिइने कार्यालयले बताएको छ । वर्षभरि यो कार्यक्रम जारी रहने भएकाले आवेदन लिएर आउन किसानलाई कार्यालयले आग्रह गरिएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?