आजको मौसम:देशका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। उक्त प्रणालीका कारण अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज (बिहीबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। देशको सूदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
