रुस–युक्रेन युद्ध सङ्कट देखाएर मूल्य वृद्धि

प्रशोधित तेल

काठमाडौँ: रुस–युक्रेन युद्धका कारण नेपाली बजारमा खानेतेलको मूल्य प्रतिलिटर ५० रुपियाँसम्म बढेको छ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य ५० रुपियाँ बढेको हो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक साताअघि प्रतिलिटर २३० रुपियाँमा किनबेच भएको सनफ्लावर र भटमास तेलको मूल्य अहिले बढेर २८० रुपियाँ नयाँ प्रिन्ट गरेको तेल बजारमा आएको छ ।

सङ्घका महासचिव आमुल तुलाधरले युक्रेनमा युुद्ध सुरु हुनेबित्तिकै नेपाली बजारमा उद्योगीले खानेतेल बढाउँदा पनि सरकारका जिम्मेवार नियमनकारी मौन बनेको आरोप लगाउनुभयो । “युक्रेन युद्ध हुनेबित्तिकै नेपालमा तेल कसरी बढयो ? जबकी उद्योगीले तीन महिनालाई पुग्ने कच्चा तेल त पहिले नै स्टोर गरेका हुन्छन् । यो कुरा सरकारका नियमनकारी निकायलाई राम्ररी थाहा छ तर पनि किन चुप ?” उहाँले प्रश्न गर्नुभयो ।

तेल उद्योगीले भने युुक्रेन–रसियाको युद्ध सुरु भएपछि नेपालमा आयातका लागि गरेका सबै अर्डर रद्द भएकाले बजारमा तेलको उत्पादन घटेको दाबी गरेका छन् । नेपाली बजारको तेलको माग करिब ५० प्रतिशत पूर्ति गर्दै आएको दुगडले आफ्ना समूहले उत्पादन गरेका तेल बजारमा पर्याप्त भएको दाबी गर्दै आएको छ । दुगडले इन्धनको मूल्य वृद्धिले ढुवानीको लागत बढेसँगै तेलको भाउ केही बढेको जनाएको छ ।

बजार अनुुगमन गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले उद्योगी तेलको मूल्य बढ्नुको यर्थाथ प्रमाण उपलब्ध गराउन उद्योगीलाई पुनः निर्देशन दिएको जानकारी दिनुभयो । यसअघि उद्योगले विभागमा बुझाएको विवरण चित्त बुझ्दो नभएपछि विभागले उद्योगीलाई बोलाएर नै ढुवानी लागत र तेलको उत्पादन लागत स्पष्ट हुने कागजात उपलब्ध गराउन निर्देशन दिएको उहाँको भनाइ छ ।

महानिर्देशक श्रेष्ठले भन्नुभयो, यसअघि विभागले मागेको विवरणमा बैङ्कको ब्याज, ढुवानी, कच्चा तेल बढेकोलगायतका कुरा उल्लेख गरेर बढाइएको भनिएको छ, अहिले तेलको मूल्य हेर्दा त्यो त्यति चित्त बुझ्दो नभएपछि थप कागजात माग गरेका छौँ ।
गोरखापत्र अनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments