कृषिमा भविष्य देखेपछि निर्माण व्यवसाय छाडेँ…

वृक्षरोपण

बनेपा :गाउँमा नै फलफूल र पक्षीपालन गरेर यहाँका युवाले राम्रो आम्दानी गर्दै आउनुभएको छ । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–७ का नमस्कार लामाले मादन गाउँमा पहिलोपटक ‘नमस्ते कृषि फार्म’ सञ्चालन गरी व्यावसायिकरूपमा पक्षी र फलफूलखेती सुरु गर्नुभएको हो ।

कृषि पेशामा राम्रो भविष्य देखेको कारण सहरमा गरिरहेको व्यवसाय छाडेर गाउँ फर्की कृषि फार्म सञ्चालन गरेको लामाले बताउनुभयो । यसअघि निर्माण व्यवसायमा सक्रिय लामा अहिले पक्षीपालन र फलफूल खेतीमा व्यस्त हुनुभएको छ । उहाँले गाउँमा विभिन्न जातका पक्षीदेखि त्यहीअनुसारको फलफूल खेती गरिरहुनभएको छ । एकल व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले कृषि क्षेत्रमा लगानी गरेअनुसार जोखिम मोल्न नपर्ने र मेहेनतअनुसारको कमाइ हुने भएका कारण गाउँमा फर्केर कृषितर्फ केन्द्रित भएको उहाँले बताउनुभयो ।

अहिले उहाँ बिहानदेखि बेुलकासम्म आफ्नै कृषि फार्ममा व्यस्त रहुनहुन्छ । उहाँको फार्ममा पक्षीमा लोकल कुखुरा, लौकाट, टर्की र कालिज छन् भने फलफूलमा बुद्धचित्त माला, कागती, एभोकाडो, अनार, आँप र अम्बा रहेको छ । फलफूलको बिरुवा र पक्षीपालन गरी रु ३५ लाख लगानीमा सुरु गरेको व्यवसाय अब बजारको मागअनुसार बढाउँदै लैजाने उहाँले बताउनुभयो ।
पचहत्तर रोपनी आफ्नै जग्गा र त्यसबाहेक ३५ रोपनी जग्गा भाडामा लिएर ११० रोपनी जग्गामा सो व्यवसाय गर्नुभएको हो । सहरमा भन्दा गाउँमा जग्गा कम भाडामा पाइने र आफ्नै पनि जग्गामा व्यवसाय गर्न पाउने भएकाले गाउँमा फर्केर व्यवसाय गरेको हो । “बजारमा जुन वस्तुको बढी माग हुन्छ, त्यहीअनुसारले व्यवसायलाई थप वृद्धि गर्दै लैजानका लागि पनि यसरी मिश्रितरूपमा पालन गरेको हुँ”, उहाँले भन्नुभयो, “बजारमा जुन पक्षीको बढी माग आउँछ, त्यहीअनुसार प्राथमिकतामा राखेर पालन गर्दैछु”, उहाँका फार्ममा कुखुरा दुई हजार, कालिज १५०, टर्की अलि कम रहेको छ । कुखुरा लागि गाउँतिर अलिअलि बिक्री भए पनि मुख्य बजार काठमाडौँ नै हुने गरेको लामाले बताउनुभयो ।

बुद्धचित्त माला १५० बोट, कागती एक हजार ५०० बोट, एभोकाडो २०० बोट, अनार १०० बोट, आँप १०० बोट, अम्बा गरी करिब दुई हजार ५०० बोट फलफूल खेती गरिरहेको लामाले बताउनुभयो । पाँच वर्षदेखि सुरु गरेको फलफूलमध्ये कागती, आँप र बुद्धचित्त मालाबाट यस वर्षदेखि आम्दानी लिन थालेको फार्म सञ्चालक लामाको भनाइ छ । सबै व्यवसायबाट मासिक रु ३० देखि ३५ हजार आम्दानी गरिरहेको र फलफूलको बोटबाट उत्पादन दिन थालेकाले अब राम्रो आम्दानी लिन पाउने अवस्थामा रहेको उहाँले बताउनुभयो ।

फलफूलको बोट बिरुवा रोपेको र कुखुरापालन गर्ने काम थालनी गरेको करिब पाँच वर्ष भएको उहाँले फार्म दर्ता नै गरेर काम गरेको एक वर्ष भएको बताउनुभयो । आम्दानी सोचेजस्तो लिन नपाए पनि धेरै तनाव लिनु नपर्ने र आफ्नै तालमा काम गरेर खटेअनुसारको फाइदा लिन पाउने भएकाले कृषि र पक्षीपालन व्यवसायमा लागेको उहाँले बताउनुभयो ।(रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?