धौलिगाड खानेपानी आयोजनाको निर्माण प्रक्रिया सुरुः ४४ हजारभन्दा बढी घरधुरी लाभान्वित हुने

खलङ्गा: कर्णाली प्रदेशको सबैभन्दा ठुलो जुम्लास्थित बृहत् धौलिगाड खानेपानी आयोजना निर्माण हुने भएको छ ।

विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेका उक्त आयोजनाको निर्माण प्रक्रिया अहिले सुरु भएको हो ।केही महिना अघि आयोजना निर्माणका लागि आवश्यक बजेटको सुनिश्चितता भएपनि कहिलेबाट निर्माण हुने ढुङ्गो लाग्न सकेको थिएन ।

रु एक अर्ब २६ करोडको लागतमा निर्माण हुने उक्त आयोजनाको भोलि अर्थात् यही चैत ५ गते सङ्घीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गर्ने कार्यक्रम तय भएको धौलिगाड खानेपानी आयोजनका प्रमुख महेश न्यौपानेले बताए ।

उनले भने, ‘कर्णाली प्रदेशकै ठुलो र नेपालको हिमाली भेगमा रहेको सबैभन्दा लामो प्रसारण तथा वितरण क्षेत्र रहेको उक्त खानेपानी आयोजनाबाट चन्दननाथ नगरपालिकासहित गुठिचौर र तातोपानी गाउँपालिकाका ४४ हजार १६३ घरधुरी लाभान्वित हुने छन् । आयोजना सञ्चालनसँगै त्यस क्षेत्रका नागरिकले भोगिरहेका खानेपानी समस्या पनि हट्ने अपेक्षा गरिएको छ ।’

लामो सङ्घर्ष र प्रयासपछि आयोजना निर्माण हुने प्रक्रिया गएकोमा जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले खुसी व्यक्त गरे ।

आयोजनाअन्तर्गत तीन हजार ३०० भन्दा बढी धारा निर्माण गरिने छन् । खानेपानीको अभाव झेलिरहेका जुम्लाका दुर्गम गाउँबस्तीले आयोजनाबाट राहत पाउने विश्वास लिइएको छ ।

करिब १२ वर्षपछि धौलिगाड खानेपानी आयोजना निर्माणका लागि टेन्डर प्रक्रियामा गएपछि जुम्ली नागरिक खुसी भएका छन् ।उनले भने, ‘जुम्ली जनताको ठुलो सपना धौलीगाड खानेपानी आयोजना टेन्डरमा गएको छ । तीन वटै स्थानीय तहले लगानी गरेपछि आयोजनाले मूर्त रूप लिएको छ । अब आयोजनाले गति लिने छन् ।’

स्थानीय तहको साढे एक करोड लगानी

आयोजना निर्माणका लागि कूल लागतको एक प्रतिशत रकम स्थानीय तहले व्यवस्थापन गर्नु पर्नेछ ।

एक प्रतिशत श्रमदानका लागि लाभान्वित तीन वटा स्थानीय तहले रु एक करोड ४६ लाख लगानी गरेको जिसस उपप्रमुख बुढाले बताए।

स्थानीय तहले आयोजनाको खातामा अग्रिम नगद जम्मा गरेपछि आयोजना अघि बढेको हो । यसका लागि चन्दननाथ नगरपालिकाले रु ५० लाख, तातोपानी गाउँपालिकाले रु ५० लाख र गुठिचौर गाउँपालिकाले रु ४६ लाख बजेट पहिले नै बैङ्क धरौटी राखिसकेका छन् ।

सो खानेपानी आयोजनाको सुरुवात २०६४ साल देखिनै भएको थियो । २०६६ सालमा स्थानीयवासी राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समितिले आयोजनाको केही काम सुरु गरे पनि पूर्णता हुन सकेन । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments