किसानलाई गहुँ भित्र्याउने चटारो, दललाई चुनावको

भजनी : कैलालीको भजनी नगरपालिका–६ का लालबहादुर चौधरी यतिबेला मङ्सिरमा लगाएको गहुँ भित्र्याउने चटारोमा हुनुहुन्छ । स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि लालबहादुरलाई कुनै पनि पार्टीका नेतालाई भेट्ने फुर्सद छैन । राजनीतिक दलका नेताहरू चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानसँग पार्टीका नेताको भेट हुन सकेको छैन । त्यसैले पनि होला यतिबेला राजनीतिक दलका चुनावमुखी प्रचारप्रसार पनि कम भएको देख्न सकिन्छ ।

लालबहादुर मात्रै नभई उहाँका सबै परिवार गहुँ भित्र्याउन व्यस्तमात्रै छैनन् अर्कोतिर चैतेधान रोप्ने कामले पनि फुर्सद छैन । “कामको निकै चटारो छ, गहुँ भित्र्याउने चटारो एकातिर छ भने चैतेधान रोप्ने चटारो अर्कोतिर”, लालबहादुरले भन्नुभयो, “मौसम राम्रो छ, यहीँ मौका छोपेर खेतमा लगाएको गहुँ भित्र्याउन सकेपछि मात्रै अरु कुराका बारेमा सोच्न सकिने छ ।”

उहाँले धानबाली बाढीका कारण सबै तहसनहस भएको बताउँदै गहुँ बेचेर धान रोप्दा लागेको खर्च तिर्नुपर्ने बाध्यता भएको सुनाउनुभयो । भजनी–३ का दलबहादुर साउद गहुँखेती भित्र्याएर अहिले चैतेधान रोप्नमा व्यस्त हुनुहुन्छ । वर्षात्को समयमा बढी डुबान हुने क्षेत्रको जग्गा भएका कारण उहाँले वर्षात्मा धान रोप्न पाउनु भएन । मङ्सिरमा लगाएको गहुँ भित्र्याएर चैतमा रोपेको धान जेठको अन्तिममा भित्र्याउने गरी धान रोपाइँ भइरहेको दलबहादुर बताउनुहुन्छ ।

“काम नगरेर साँझ बिहानको गुजारा कसरी गर्ने ? वर्षात्मा खेतमा कुनै खेती हुँदैन, त्यहीँ भएर पनि यो अहिलेको समय हाम्रा लागि निकै महत्वपूर्ण छ”, दलबहादुरले भन्नुभयो, “हामीलाई चुनावको भन्दा बढी चिन्ता गहुँबाली भित्र्याउने र धान रोप्नेको छ, समय भयो भने भोट हाल्न जानुपर्ला होइन भने कामभन्दा ठूलो हाम्रा लागि चुनाव होइन ।” उहाँले यसभन्दा पहिले पनि भोट माग्न आएकालाई भोट दिए पनि नेताहरूबाट पाएको आश्वासन पूरा नभएको गुनासो गर्नुभयो ।

कैलालीकै टीकापुर नगरपालिका–७ का लालवीर चौधरीले प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै गहुँ काट्ने काममा किसान लागेको बताउनुभएको छ । “नेताहरू चुनावी प्रचारका क्रममा टोल कमिटी गठनदेखि आफ्नो पक्षमा माहोल बनाउन आउँछन्, अब यो समयमा हामीलाई पनि चुनावी प्रचारका लागि आग्रहसमेत गर्छन्”, चौधरीले भन्नुभयो, “हामी भने बिहानदेखि साँझ अबेरसम्मै खेतमा काम गरिरहेका छौँ, वर्षभरि खाने अन्न भित्र्याउनुभन्दा ठूलो पार्टीको चुनावी प्रचारप्रसार हाम्रा लागि हुन सक्दैन ।”

टीकापुर–४ का रामभजन चौधरी पनि गहुँ भित्र्याउन दिनरात नभनी खेतमा सक्रिय रहेको बताउनुहुन्छ । उहाँले एक बिघा क्षेत्रफलमा गहुँखेती गर्नुभएको छ । “एक बिघा जति अधियाँमा गहुँ पनि लगाएको छु, त्यहीँ गहुँ भित्र्याउन अहिले भ्याइनभ्याइ छ”, उहाँले भन्नुभयो, “सबै परिवार नै अहिले गहुँ काट्नमा व्यस्त छौँ, निर्वाचनमा नेताले किसानलाई आश्वासनमात्रै दिन्छन्, हाम्रा दुःख कसैले देख्ने होइन, खेतीका बेला सिँचाइका लागि पानी हुँदैन, भोट माग्दा आउँदा कुरा ठूला गर्छन् ।” (रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?