मतदानका लागि तीन दिन हिँड्नुपर्ने

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो ।

स्थानीयवासी चित्रबहादुर तिलिजाले मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र फर्कने गरिएको बताउनुभयो ।

“मतदान हुने अघिल्लो दिन गाउँबाट हिँडेर नाउरामा पुगेपछि बास बस्छाँै, भोलिपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्केपछि नाउरामै बास बस्छौँ”, उहाँले भन्नुभयो, “घरबाट हिँडेको तेस्रो दिनमात्र फर्कन सकिन्छ ।”

धवलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती बगर र सिमकोस गाउँमा ५० घरधुरी छ । साविक मुदी गाविसको वडा नं ९ मा पर्ने सिमकोस बगरका बासिन्दाको मतदान केन्द्र मुदीको बुद्धीविकास मावि हो । त्यहाँ १०० भन्दा बढी मतदाता छन् । विसं २०७४ को स्थानीय तहको चुनावमा ५७ जनाले मतदान गरेका थिए । २०५४ को स्थानीय तहको चुनावमा बगर वडाका सबै निर्विरोध भएका थिए । घर कुर्नुपर्ने भएकाले सबै स्थानीयवासी मतदान केन्द्रमा आउन सक्दैनन् ।

ज्येष्ठ नागरिक, अपाङ्गता र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको छ । पशु गोठमा बस्ने गोठाला पनि मतदानबाट बञ्चित हुने गरेका छन् । नाउराको अक्करे भिरको पैदलमार्ग छिचोलेर बगर पुग्नुपर्छ । मुदी गाउँसम्म मात्र सडक पुगेको छ । नाउराको भिरको पदमार्ग जिल्लाकै जोखिमयुक्त हो । विसं २०६४ अघि बगरगाउँ पुग्ने घोडेटो बाटो पनि थिएन । धवलागिरि आधारभूत विद्यालयमा कक्षा ५ पढेपछि यहाँका बालबालिका माथिल्लो तहको अध्ययनका लागि घर छाडेर जानुपर्छ ।

विसं २०७५ मा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको थियो । उक्त एकाइ नुहँदा बगरवासीलाई उपचारका लागि मुदी पुगेर फर्कन तीन दिन लाग्ने गरेको थियो । बगरमा छुट्टै मतदानस्थल बनाउनुपर्ने स्थानीयवासीको मागमा मतदाता सङ्ख्या थोरै भएकाले पूरा हुनसकेको छैन । एक मतदान केन्द्रमा न्यूनतम एक हजार मतदाता हुनुपर्ने निर्वाचन आयोगको मापदण्ड छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?