घरपालुवा पशुमा खोरेत रोगको समस्या

बैतडी: जिल्लाका चार स्थानीय तहका घरपालुवा पशुमा खोरेत रोगको समस्या देखा परेको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको समस्या देखिएको हो ।

उनले भने, “गाई, भैँसी, गोरु, बाख्रालगायतका घरपालुवा जनावरमा खोरेत रोगको समस्या देखिएको छ, रोगका कारण घरपालुवा पशु मर्नेसमेत गरेका छन्।” रोग देखापरेका ठाउँमा खोरेतविरुद्धको खोप अभियानसमेत सञ्चालन गरिएको छ। अहिले गाउँगाउँमा पुगेर प्राविधिकले खोप लगाउन थालिएको केन्द्रले जनाएको छ। रोगको समस्या देखिएको ठाउँमा अन्य पशुलाई रोग नलागोस् भनेर खोप दिइने गरिन्छ ।

केन्द्रले खोरेत रोगविरुद्ध खोप निःशुल्क उपलब्ध गराएको छ भने सम्बन्धित पालिकाका प्राविधिकले खोप लगाउने काम गरिरहेका छन्। पशुहरूमा खोरेत रोग देखिएमा मुखमा घाउ हुने, खुट्टाको काप र खुरमा घाउ हुने , हिँड्न नसक्ने, जिब्रोमा समेत असर हुनेलगायतका लक्षण देखा पर्दछन्। रोग लागिसकेपछि निको हुने सम्भावना कम हुने गरेकाले गोठ सफा राख्ने, सरसफाइमा विशेष ध्यान दिन किसानलाई सुझाव दिइएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments