चिउरी संरक्षणका लागि एक लाख बिरुवा रोपिँदै

चिउरीको औषधीय महत्व

काठमाडौँ : जिल्लाको उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय क्षेत्रमा पाइने महत्वपूर्ण तथा उपयोगी वनस्पति र हिजोआज लोप हुँदै गइरहेको महत्वपूर्ण वृक्ष चिउरी संरक्षणका लागि एक वर्षभित्र एक लाख बिरुवा रोप्ने अभियान सञ्चालन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार पालिकाले लोपोन्मुख चिउरी संरक्षणका लागि मात्र झन्डै रु एक करोड ५० लाख बजेट विनियोजन गरिसकेको जानकारी दिए । आगामी आर्थिक वर्षबाट चिउरीको वृक्षरोपण गर्ने र त्यसपछिका वर्षसम्ममा पालिकाका सबै वडाहरुका गाउँ र टोलटोलमा एक लाख बराबर बिरुवा रोपिने अध्यक्ष राईले बताए ।

उनले भने, “चिउरी र हाम्रो पुर्खाहरुको साइनो धेरै पुरानो हो, हिजो हाम्रा पुर्खाहरुदेखि नै गाउँघरमा चारैतिर पाइने र संरक्षण गर्दै आएको चिउरी लोप हुने अवस्थामा पुगेको छ, चिउरीको फलको रस हाम्रो नसानसामा छ, यस कारण पनि यसको संरक्षणका लागि पालिकाले बजेट नै व्यवस्थापन गरेको हो ।”

सो पालिकाका उपाध्यक्ष पुष्पलाल राईका अनुसार चिउरी संरक्षण गर्ने अभियान पालिकाले यस पटकदेखि सञ्चालन गरेको र यसका धेरै फाइदा रहेको बताए । वातावरण तथा पर्यावरण सन्तुलनका लागि गाईवस्तुलाई घाँस र मौरीपालनका लागि चिउरी अति नै उपयोगी हुने कारण पालिकाले अब लोपोन्मुख हुँदै गइरहेको चिउरी संरक्षणका लागि बजेट नै व्यवस्थापन गरेर बिरुवा रोप्ने अभियान सुरु गरेको उनको भनाइ छ ।

चिउरीका बिरुवा हुर्काउनका लागि पालिकाको वडा नं ४ जाँते, १ बराह र ३ ताम्लीछामा कृषि प्राविधिकको सल्लाह तथा सहयोगमा नर्सरी प्लान्ट निर्माण गरिने पालिकाले जनाएको छ । रासस

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments