फुटेनन् मूल, अझै भएन रोपाइँ

गलेश्वर: म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो ।

विगतका वर्षहरुमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भैसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् । मूल फुटेर, खहरे तथा अन्य खोलाहरुमा पानीको छेलोखेलो हुने समयमा यस वर्ष पानीकै अभाव भएपछि रोपाइँ हुन नसकेको किसानहरुले बताएका छन् । “ पानी पर्ला र रोपाइँ सुरु गरौला भन्ने सुरुमा छौँ ”– बेनी नगरपालिका २ का टेकबहादुर कार्कीले भने ।

खेत र बारीका कान्लाका पानीका मूल फुटेका छैनन् भने भेलबाडी बग्न पर्ने खोलामा खडेरीले गर्दा गत शुक्रबारसम्म कमिला हिँड्ने गरेका किसान बताउँछन् । शनिबार र आइतबार सिमसिमे पानी परिरहेको छ । दिनभरि यस्तै पानी पर्ने हो भने रोपाइँमा सहज हुने किसानको भनाइ रहेको छ । केही वर्षअघिसम्म लेकाली क्षेत्रमा असारको अन्तिमसम्ममा र साउनको पहिलो सातासम्ममा बेँसीमा रोपाइँ पूरा हुने गरेका थियो । तर पछिल्ला वर्षहरूमा वर्षाको अनियमित हुँदा कहिले धेरै छिटो त कहिले धेरै ढिलो रोपाइँ हुन थालेको बेनी –९ का बालकृष्ण सुवेदीले बताए।

आकाशको पानी नपरेपछि खेतका कुना र कान्लाका मूल पनि फुटेको छैन । सिँचाइका लागि कुलो वा नहरको व्यवस्थापन भएका, खोल्साको आसपासमा भएका बाँझा जमिनमा रोपाइँ सकिएको भए पनि मकैखेती भएको मुख्य उत्पादनयोग्य भूमिमा रोपाइँ भएको छैन । मकै पाकेपछि थन्क्याएर रोपाइँका लागि खेतका गराहरू तयारी अवस्थामा राखिए पनि पानीकै अभावमा रोप्न नसकेको कृषक बताउँछन् । वर्षा नहुँदा मकै लगाएको खेत खाली भएको धेरै दिन भएको भए पनि रोपाइँ गर्न नसकिएको मालिका गाउँपालिका–५ का कृषक शेरबहादुर फगामीले जानकारी दिए ।

जिल्लाका विभिन्न ठाउँका कृषकले धारा वा मूलको पानी आलोपालो गरेर रोपाइँ गरिएको खेतमा पनि सिँचाइको अभावमा गराहरू चर्किएको बताएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले अहिलेसम्म करिब ५५ प्रतिशत खेतमा रोपाइँ भएको जानकारी दिए। अघिल्लो वर्षको यही समयमा अहिलेको भन्दा धेरै रोपाइँ भए पनि यो वर्ष पर्याप्त वर्षा नहुँदा कृषक चिन्तामा परेको उनको भनाइ छ ।

जिल्लामा कूल ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा तीमध्ये जम्मा १९ हजार ४९८ हेक्टरको जमिनमा खेती हुँदै आइरहेको छ । जिल्लामा कूल तीन हजार ८८५ हेक्टरको जमिनमा धानखेती हुँदै आएको छ । गत वर्ष १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

खेती गरिएको जमिनमध्ये छ हजार १३ हेक्टरअर्थात् ३० दशमलव आठ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा एक हजार ६८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार ३३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

कृषि निर्देशनालय गण्डकी प्रदेशका निर्देशक वासुदेव रेग्मीले ११ जिल्ला रहेको गण्डकीका नौ जिल्लामा मात्रै धान रोपाइँ हुने गरेको जानकारी दिए । प्रदेशका सबै जिल्लामा गरी अहिलेसम्म करिब ६३ प्रतिशत रोपाइँ भएको तथ्याङ्क आएको उनले बताए। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?