बाँझाे ‘मुख्यमन्त्री नमुना कृषि गाउँ’, अनियमितता छोप्न रातारात काम

मेलौली (बैतडी): भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँमा भएको अनियमितताको ढाकछोप गर्न रातारात संरचना दुरुस्त पार्ने र जग्गा आवादी रहेको देखाउने प्रयास गरिएको छ । तर चार दिनको प्रयासमा पनि ढाकछोपको कार्य पूरा भएको छैन ।

बैतडीको मेलौली नगरपालिका–८, कोटीगाउँको भम्ता–खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँ तीन वर्षदेखि बाँझो रहेको र आर्थिक अनियमितता भएको विषयमा यही साउन २३ गतेको गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएको थियो । त्यसको भोलिपल्ट नै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अनियमितताको छानबिन गर्न भूमि व्यवस्था तथा कृषिमन्त्री विनिता चौधरीलाई निर्देशन दिनुभएको थियो ।

मन्त्री चौधरीले पनि कृषि ज्ञानकेन्द्र बैतडीलाई स्थलगत अनुमगन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिएपछि बिहीबार कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख गोपालदत्त भट्टलगायतको टोलीले स्थलगत अनुगमन गर्दा नमुना गाउँ दुरुस्त गराउने प्रयास भइरहेको पाइएको थियो ।
बैतडी सदरमुकामबाट करिब छ घण्टा गाडीमा र दुई घण्टा पैदल यात्रापछि पुगिने दुर्गम भम्ता खोरडा मुख्यमन्त्री नमुना कृषि गाउँ पुग्दा खिया लागेका फलामका खम्बामा धमाधम पाल ओढाउने काम भइरहेको थियो । कृषि ज्ञानकेन्द्र बैतडीका कार्यालय प्रमुख र सञ्चारकर्मीलगायतको टोली आउने थाहा भएपछि जग्गा खनजोत गरिएको र भौतिक संरचना पनि दुरुस्त बनाउने प्रयास गरिएको हो ।

अनुगमन हुने हल्ला चलेपछि छ हल गोरु लगाई रातारात जोतेर झार उखेलेको कृषि समूहका सचिव धनीराम लोहारले बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइ डिभिजन कार्यालय बैतडीबाट समयमै लिफ्ट सिँचाइ पूरा नहुँदा खेत बाँझो राख्नुपर्ने अवस्था आयो । अनुगमन हुने भएपछि निकै कष्ट गरेर बाँझो खेतको झार उखेलेर पोलिहाउसमा कागज ओढाउने काम चलिरहेको छ ।” याे खबर गाेरखापत्र दैनिकमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments