आलुखेतीमा आत्मनिर्भरउन्मुख व्यास

तनहुँ :तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भरउन्मुख हुँदै गएको छ। नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो।

आलुखेतीको लागि व्यासका पाँदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी दिनुभयो। गत वर्ष ३६ मेट्रिक टन आलुको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा दिँदा झण्डै दुई सय ५२ मेट्रिक टन आलु उत्पादन भएको उनले बताए। प्रतिकिलो ७५ रुपैँयाको आलु ३७।५० रुपैँयामा किसानलाई अनुदानमा दिइएको हो।

नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा १२ लाख रुपैँयाको आलुको बीउ वितरण गरिएको हो। आलु उत्पादनका लागि कार्यालयले प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि किसान उत्साहित भएर लागेको शाखा प्रमुख वाग्लेले जानकारी दिए।

भदौमा आलुखेती गर्ने हो भने वर्षमा दुई मौसम आलुखेती गर्न सकिने हुँदा व्यास क्षेत्र आत्मनिर्भर बनी अन्यत्रसमेत निर्यात गर्न सकिने उनले बताए। तीन महिनामा उत्पादन गर्न सकिने र यहाँका खेत र पाखोमा आलु उत्पादन राम्रो हुने गरेको बताइएको छ।

किसानले प्रतिबोरा तीन सय ५० रुपैँया देखि पाँच सय रुपैँयासम्म तिरेर पोखरा वा चितवनका चिस्यान केन्द्रमा आलुको बीउ लगेर राख्नुपर्ने बाध्यता रहिआएको छ। यस वर्षदेखि प्रयोगमा ल्याउने गरी नगरपालिकाले चिस्यान केन्द्र निर्माण गरिरहेको छ। उनले भने, ‘चिस्यान केन्द्र बनेपछि किसानले महँगो शुल्क तिरेर ढुवानी र भण्डारमा राख्नुपर्ने समस्याको अन्त्य हुनेछ।’

नगरपालिकाले व्यास क्षेत्रका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु भण्डारण गर्दा सुलभ र सस्तो दरमा राख्ने योजना बनाएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले आव २०७९/०८० मा सञ्चालन गर्नुपर्ने क्रमागत योजनाअनुरुप नगरपालिका–११ स्थित रानीगाउँ नजिक चिस्यान केन्द्र निर्माण गरिरहेको छ। चिस्यान केन्द्रका लागि सात लाख ३३ हजार सात सय २८ रुपैँया बजेट विनियोजन भएको छ। चिस्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?