खसी बोकाको माग घट्दै

सुदूरपश्चिम : कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि खसी बोकाको सोचेअनुसारको व्यापार नहुँदा चिन्ता छ ।

धनगढीको हसनपुरमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिनुभएका मानबहादुरले भन्नुभयो, “पहिलेको जस्तो जुग जमाना अब रहेन, मान्छेले बोकाको बली दिन छाड्दा यसको माग पनि घट्न थाल्यो ।” पहाडी क्षेत्रको चुरे गाउँपालिका बासिन्दाको मुख्य पेशा नै बाख्रापालन रहेको छ । यो क्षेत्र बाख्रा पालनका लागि पकेट क्षेत्रका रुपमा रहेको छ । यसबाहेक चुरेका किसानको अर्को आयस्रोतको रुपमा फलफूल, अदुवा र बेसारको खेती पनि छ । उहाँले थप्नुभयो, “पहिलेको भन्दा महँगी बढेको भएर पनि अपेक्षा गरेअनुसारको बिक्री हुन नसक्ने समस्या देखिएको हुनसक्छ ।” उहाँसहितको समूहले तीन दिनदेखि धनगढीका चोक र गल्लीमा पुगेर खसी बोकाको घुम्ती व्यापार गरिरहनुभएको छ ।

अर्का किसान दानबहादुर बुढाले दसैँको समयमा चुरे गाउँपालिकामा पालिएका खसी बोका बिक्रीका लागि काठमाडौँ र पोखरासम्म पु¥याउने गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँका खसी बोकाको बिक्रीबाट मुनाफा बढी लिने सोचले जिल्ला बाहिर लग्ने गरिए पनि सोचे अनुसारको फाइदा लिन सकिएको छैन ।” चुरे गाउँपालिकाका कतिपय किसान परिवारले एउटै खोरबाट कम्तीमा पनि ३५÷४० वटा बाख्रा पाल्ने गरेका छन् ।

व्यापारी लोकबहादुर बोहराले पनि बलि दिने परम्परामा कमी आउँदा खसीबोकाको स्थानीय क्षेत्रमा माग पहिलेको जस्तो नभएको अनुभव सुनाउनुभयो । ‘‘स्थानीय क्षेत्रमा जिउँदो खसी मुस्किलले प्रति किलो रु पाँच सय ५० मा खरिद बिक्री भइरहेको छ’’, बोहराले भन्नुभयो, ‘‘पहिलेको भन्दा माग निकै घट्दा समस्या भइरहेको छ ।”

यहाँका खसी बोका पोखरा काठमाडौँ पुर्याएर बेच्दा प्रतिकिलो रु सात सय देखि आठ सयसम्ममा बिक्री हुने गरेको व्यापारीले बताएका छन् । बाख्रा पालन व्यवसायका लागि सरकारबाट सहयोग नपुगेको गुनासो कृषकको छ । उहाँहरूले भन्नुभयो, ‘‘सरकारले बाख्रा पालनका लागि पकेट क्षेत्र घोषणा गर्छ तर पकेट क्षेत्रमा गर्नुपर्ने सहयोग किसानलाई उपलब्ध गराउँदैन ।’’

घरघरमा खसी बोकाको मार हान्ने र देवीदेवताको नाममा बली दिने चलन घट्दै जाँदा पछिल्ला वर्षमा यसको कारोबार पनि घट्दै गएको व्यापारीको बुझाइ छ । दसैँमा देवीदेवताको नाममा घरघरमा खसी बोका, कुखुरा, हाँस परेवा जस्ता पशुपक्षीको बलीदिने चलन पहिलेको तुलनामा कमी आएको उहाँहरू बताउनुहुन्छ । पछिल्ला वर्षमा कतिपय परिवारले राँगा र बोकाको विकल्पमा नरिवल, कुभिन्डो, फर्सी काँक्राको बली दिन थालिएको पाइन्छ । सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाको तुलनामा पहाडी जिल्लाका बडा दसैँको समयमा कतिपय शक्तिपीठमा राँगा, बोकाको बलि दिने चलन भने कायम नै छ । रासस

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments