खसी बिक्री नहुँदा किसान निराश

बाँके: दसैँमा बिक्री गर्न तयार पारिएका खसी बिक्री नहुँदा बाँकेका किसान महिला निराश भएका छन् । यो वर्षको दसैँ र तिहारलाई लक्षित गरी बाँकेका किसान महिलाले एक हजार सात सय खसी बिक्री गर्ने लक्ष्य रहेकोमा हालसम्म जम्मा पाँच सय मात्र खसी बिक्री भएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेकी अध्यक्ष वसन्ती सुनारले जानकारी दिए ।

उनका अनुसार, यो वर्षको दसैँमा खसीको माग कम भएका कारण बिक्री नहुँदा ग्रामीण क्षेत्रका किसान महिला निराश भएका छन् । बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायत गाउँमा महिलाले उत्पादन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरणहुँदै आएको छ ।

विगतमा काठमाडौँका व्यापारीसँग मिलेर खसी काठमाडौँ पठाउने गरिए पनि अहिले त्यो गर्न नसकिएका कारण खसी बिक्री कम भएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घका व्यवस्थापक नवीन साहुले जानकारी दिए । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको साहुको भनाइ छ । महिलाले वर्षमा अहिले १० देखि १२ वटासम्म खसी बिक्री गर्न थालेको उनले जानकारी दिए ।

पहिले फाट्टफुट्ट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् । गाउँमा समूहमा आवद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी जिल्ला सङ्घले गर्दै आएको छ । सङ्घमा १७ सामाजिक उद्यमी महिला सहकारी संस्था आवद्ध रहेका छन् । यी सहकारी संस्थामा बाँकेमा मात्रै करिब १४ हजार महिला आवद्ध रहेको महिलाको क्षेत्रमा काम गर्दै आएको महिला उपकार मञ्चकी पूर्व अध्यक्ष बिजुला अधिकारीले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?