किसानको खोरै रित्तिने गरी बाघले बाख्रा मार्यो
अछाम : अछामको मङ्गलसेन नगरपालिका वडा नम्बर ६ मा बाघले ठुलो सङ्ख्यामा बाख्रा मारेको छ । विगतदेखि नै किसानका गोठ तथा वनमा चराउन लगेको बेला बाख्रा मार्दै आएको बाघले हिजो राती एक दर्जन बढी बाख्रा मारेको किसानले बताएका छन् ।
मङ्गलसेन ६ का पार्वती भण्डारीको खोरमै पसेर बाघले केही बाख्रा मारेको छ भने केही बाख्रा भेट्टाउनै नसकिएको उहाँको भनाई छ । विगत २ वर्षदेखि आयुष बाख्रा फार्म सञ्चालन गर्दै आउनुभएकी उहाँको खोरमा बाघ पसेर ३ बाख्रा मारेको छ भने ७ बाख्रा नै बेपत्ता पारेको छ ।
राती करिब १२/१ बजेको समयमा बाघ खोरमा पसेर बाख्रा मारेको पार्वतीले बताउनुभयो । आफूले ऋण कर्जा गरेर पालेका बाख्रा ठुलो सङ्ख्यामा बाघले मारेपछि उहाँ चिन्तित हुनुभएको छ । खोरको चुकुल खुस्काएर बाघ खोरमा पसेको बताइएको छ ।
नजिकै रहेको भण्डारी सामुदायिक वनबाट बाघ आएर मारेको उहाँको भनाई छ । यसैगरी वडा नम्बर ६ कै रञ्जना भण्डारीको १ बाख्रा मारेको छ भने २ बाख्रा बेपत्ता बनाएको पीडित भण्डारीको भनाई छ । सोही राती करिब २ बजेतिर झुपाराम भण्डारीको पनि एक बाख्रा मारेको छ भने एक बाख्रा बेपत्ता बनाएको छ । गाउँमै बाघ पसेर यति ठुलो सङ्ख्यामा बाख्रा मारेको यो पहिलोपटक हो । किसानले दुःख गरेर पालेका वस्तुभाउ बाघले मार्न थालेपछि किसान चिन्तित र त्रसित बनेका छन् ।
पछिल्लो समय सामुदायिक वन बन्दी क्षेत्र बनाएका कारण बाघ, बँदेल लगायत जङ्गली जनावर बढेको भण्डारी सामुदायिक बनका अध्यक्ष समेत रहनु भएका मङ्गलसेन –६ का वडा सदस्य दुर्गा प्रसाद भण्डारीले बताउनु भयो । जङ्गलको क्षेत्र बढेको, बेसी क्षेत्रमा मान्छेको बसोबास नभएको लगायतका कारणले जङ्गली जनावर गाउँसम्मै पुग्न थालेको अध्यक्ष भण्डारीको भनाई छ ।
