पाक्ने बेला हुँदा पनि धानमा लागेन दाना, किसान चिन्तित

वालिङ :पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसानहरु चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका १४ को हुल्काङमा लगाईएको धानमा दाना नलागेको हो ।

स्थानीय बजारका एग्रोभेट पसलहरुबाट ‘युएस ३१२’ जातको हाईब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताउनुभयो ।

बिगत २–३ वर्षदेखि यही जातको धान लगाउँदै आएपनि अरुबेला उत्पादन राम्रो भएको तर यसपटक धानमा दानानै नलागेको हो ।
“बिगतमा पनि यही धान लगाउँदै आएको थिएँ यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी असार ३१ गते धान रोपेको हुँ” उहाँले भन्नुभयो, “यसपटक त के भयो–भयो, पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।”

डुम्रेले सात रोपनी क्षेत्रफलमा लगाउनुभएको धानखेतीमा दाना नै नलागेको हो । मानो खाएर मुरी उब्जाउने समयमा धानमा दाना नलागेर कालै भएपछि उहाँ चिन्तामा हुनुहुन्छ । “धान ठटाउनै पर्दैन, पराल हरियै छ बोल्ने भए आगो लगाईदिन्थे” उहाँले भन्नुभयो, “गतवर्षहरुमा यही क्षेत्रफलमा १४–१५ मुरी धान उत्पादन हुन्थ्यो तर यसपटक त मेहनत, परिश्रम, लगानी सबै माटोमै मिल्यो ।”

यस ठाउँमा डुम्रेको सात रोपनी र अन्य तीन जना कृषकको दश रोपनी गरी कूल १७ रोपनी क्षेत्रफलमा लगाईएको धानमा दाना नलागेको वालिङ नगरपालिकाका कृषि प्राविधिक केशबहादुर थापाले बताउनुभयो ।

कृषकले धानमा दाना नलागेको भन्ने खबर गरेपछि सम्बन्धित खेतमै पुगेर अनुगमन तथा निरीक्षण गरेर फर्किएको उहाँले बताउनुभयो । “यो ठाउँमा अन्य कृषकहरुले लगाउनुभएको उही जातको धान राम्रो फलेको छ तर चार जना कृषकहरुको खेतमा लगाईएको धानमा दाना नै छैन” उहाँले भन्नुभयो, “यो अन्य कारणले भन्दा पनि धान पसाएर फूल खेल्ने बेलामा परेको अविरल वर्षाकाकारण क्षति भएको हो ।”

युएस ३१२’ जातको हाईब्रिड धान यस ठाउँकालागि उपयुक्त भएपनि ढिलो रोपेकाले पनि समस्या देखिएको उहाँको दावी छ । केही दिन अघि रोपिएको खेतमा धान राम्रो भएको तर ढिलो रोपिएको साथै फूल खेल्ने बेलामा ४÷५ दिनको अविरल वर्षा मुख्य कारण भएको उहाँ बताउनुहुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?