सुन्तलाको बजारीकरणमा समस्या झेल्दै किसान

सुदूरपश्चिम:कैलालीको चुरेपहाडी क्षेत्र निगालीका किसान टीकाराम आचार्य आफ्नो बारीको बोटमा हाँगा भाँचिने गरी लटरम्म सुन्तला फलेपछि खुसी हुनुभएको थियो । तर सुन्तलाले बजार नपाएपछि भने उहाँको चिन्ता बढिरहेको छ ।

“यसपाली विगतका वर्षभन्दा सुन्तला उत्पादन बढ्दा खुसी छौँ”, उहाँले भन्नुभयो, “उत्पादित सुन्तलाको उचित मूल्य पाउन नसकेपछि भने चिन्ता थपिएको छ ।” उहाँको बारीमा सुन्तलाका पाँच सयभन्दा बढी बोट छन् । आचार्यले यस वर्ष निगाली र आसपासको क्षेत्रमा दुई हजार क्विन्टलभन्दा बढी सुन्तला फलेको हुनुसक्ने अनुमान गर्नुभयो ।

निगालीमा उत्पादित सुन्तलाको नजिकैका मुख्य बजार धनगढी, महेन्द्रनगर र अत्तरिया हुन् । निगालीबाट अत्तरिया झण्डै ५५, धनगढी ६५ र महेन्द्रनगर एक सय किलोमिटरको दूरीमा छन् । चर्को ढुवानी भाडाका कारण बजारसम्म सुन्तलाको ढुवानी गर्न समस्या भइरहेको किसानको भनाइ छ । बजारीकरणको समस्या भए पनि निगाली क्षेत्रमा एक किसानले वर्षमा सुन्तला बिक्रीबाट मात्रै कम्तीमा रु ५० देखि बढीमा रु छ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

निगाली क्षेत्रमा शीतभण्डार गृह (कोल्डस्टोर) निर्माण गर्नुपर्ने किसानको धेरै वर्षअघि देखिको माग अझैँ पूरा हुनसकेको छैन । कोल्डस्टोरको अभावमा फलेको सुन्तला किसानले भण्डारण गर्न पाइरहेका छैनन् ।

“अहिले भण्डारण गरेर यो सुन्तला फागुन, चैततिर बेच्दा मूल्य पाउँथ्यौँ, तर कोल्डस्टोर नहुँदा सुन्तला सस्तोमा दिनुपरेको छ”, अर्का किसान सङ्गम आचार्यले भन्नुभयो । निगाली क्षेत्रलाई सरकारले सुन्तला उत्पादनको पकेट क्षेत्र घोषणा गरेको लामोसमय भइसकेको छ ।

“सरकारको सम्बन्धित निकायले कतिपय किसानलाई सुन्तलाको बेर्नासम्म निःशुल्क उपलब्ध गराउँछ”, आचार्यले भन्नुभयो, “उपलब्ध गराइएका बेर्ना पनि काम नलाग्ने देखिन थालेपछि आफै नर्सरी बनाएर बेर्ना तयार गर्ने गरेका छौंँ ।” अन्यत्रबाट ल्याइएको उन्नत जातको सुन्तलाभन्दा स्थानीय जातको स्वदिलो एवं मीठो हुने हुँदा किसान आफैले स्थानीय जातको सुन्तलाको बीउ तयार गरेर बोट रोप्ने गरेका छन् ।

सुन्तला खेती विस्तार हुँदै गए पनि भरपर्दो सिँचाइको असुविधा किसानलाई भइरहन्छ । सुन्तला बेच्न धनगढी पुग्नुभएका निगाली नजिकैको डोटीको जोरायल क्षेत्रका किसान प्रेम बोहराले केही वर्षदेखि निगाली क्षेत्रका साथै आसपासका अन्य क्षेत्रमा पनि सुन्तला खेती विस्तार भइरहेको बताउनुभयो । खानमा निकै स्वादिलो र रसिलो हुने भएकाले निगालीको सुन्तलाको माग बजारमा बढी हुने गरेको छ ।

धनगढीको कृषिहाट बजारमा निगालीको सुन्तलाको प्रचार गर्दै व्यापारीबीच सुन्तला बिक्री गर्ने प्रतिस्पर्धा चलेको देखिन्छ । सुन्तला बेच्दै गरेको भेटिनुभएका स्थानीय तीर्थराज ओझाले भन्नुभयो, “फलफूल बजारमा यतिबेला स्थानीय क्षेत्रमा उत्पादित सुन्तलाले बजार पाउँदा भारतबाट भित्रिने सुन्तलाको आयात निकै घटेको छ ।”

निगाली क्षेत्रले स्वादिलो सुन्तला उत्पादनमा पहिचान बनाए पनि त्यसको व्यवस्थित बजारीकरण हुन नसकिरहेको व्यापारीको समेत भनाइ छ । यसवर्ष चाहिने समयमा वर्षा भएको र असिनावृष्टि नभएका कारण सुन्तला उत्पादन वृद्धि भएको बताइएको छ ।

निगाली क्षेत्रका सुन्तला बगैँचामा यति बेला हाँगा भाँचिने गरी सुन्तला लटरम्म फलेका छन् । थोक मूल्यमा खरिद गर्नका लागि बारीमै पूग्ने व्यापारीले पूरै बारीको ठेक्का बोलेर सुन्तला खरिद गर्ने गरेका छन् । सुन्तलाको बोटका हाँगा पहेँलो भइसुक्ने र दानामा दाग लाग्ने रोगको समस्या भने बेलाबखत देखिने गरेको छ ।

सो क्षेत्रमा बर्सेनि सुन्तला खेतीको विस्तार हुँदै गएको छ । अहिले निगालीमा मात्रै व्यावसायिक रुपमा सुन्तलाखेती गर्ने किसान तीन सयभन्दा बढी पुगिसकेका छन् । यति बेला बारीमा थोक मूल्यमा प्रतिकिलो रु ६० देखि ७० मा बिक्री हुने सुन्तला बजारमा पु¥याएर बिक्री गर्नेले प्रतिकिलो रु एक सयदेखि रु एकसय ४० सम्म मूल्य तोकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments