बाराही सामुदायिक वन जडीबुटी तथा फलफूल खेतीमा अग्रसर

कागती खेती

नुवाकोट:गएको जेठसम्म विदुर नगरपालिका–४ स्थित पदमखर्कलाई वनमाराले जेलिएको थियो । यस स्थानलाई विशेष गरी गाई, गोरु र बाख्रा चराउने चरण क्षेत्रको रुपमा लिने गरिन्थ्यो । एकान्त ठाउँ । त्यसमा पनि वनमारा घारीकै कारण गोठाला र पदमखर्क हुँदै आवतजावत गर्ने असुरक्षित महसुुस गर्थे तर अहिले उक्त स्थानमा ‘सिट्रोनेला’ नामक जडीबुटीले ढाकेको छ ।

बाराही सामुदायिक वनको ब्लक नम्बर ४ मा पर्ने पदमखर्कमा तेल उत्पादनको लागि गएको असारमा वनमारा फाडेर सिट्रोनेला रोपिएको थियो । बाराही सामुदायिक वन उपभोक्ता समूहले दुई वटा उपसमूह बनाएर सुरु गरिएको सिट्रोनेला खेतीको उत्पादन सुरु भएको छ ।

“बजार क्षेत्रमा बस्छु । घरको कामबाहेक अरु केही हुन्न । समय त्यतिकै खेर गइरहेको थियो । वनमा सिट्रोनेला लगाउने जानकारी पाए । बाराही सामुदायिक वन उपभोक्ता समूहले उपसमिति बनाएर हामीलाई यहाँ काम गर्ने अवसर दिएको छ”, मनकामना उपसमितिकी फूलमाया विष्टले भन्नुभयो, “नाम मात्रको वन थियो । वनमारा र काँडाले ढाकेको । त्यसलाई हामीले पन्छायौँ । असारको अन्त्यतिर सबै प्रक्रिया पु¥याएर सिट्रोनेला रोप्यौँ । गोडमेल ग¥यौँ, राम्रो भयो । पहिलोपटक सिट्रोनेला काटेर तेल निकाल्न पठाएका छौँ ।”

उपभोक्ताको आर्थिक उपार्जनसँग आधारित भएर बाराही सामुदायिक वन उपभोक्ता समूहले सिट्रोनेला खेतीको सुरुआत गरेको हो । आर्थिक स्थिति कमजोर भएका उपभोक्तालाई उक्त खेतीमा प्रत्यक्षरुपमा संलग्न गराइएको छ । जसले गर्दा उनीहरुलाई घरखर्च टार्न सहज हुने अपेक्षा गरिएको छ । “पैसा कमाउने माध्यम छैन । घरखर्च टार्नै समस्या पर्ने गर्छ”, आइतबारे उपसमितिकी कृष्णमाया कुमालले भन्नुभयो, “वनमा घाँस, दाउरा र काठ मात्रै पाइन्छ भन्ने बुझाइ थियो । वनको सदुपयोग गर्न सकियो भने पैसा कमाउन सकिँदो रहेछ भन्ने लागेको छ । हाम्रो खाली समयको सदुपयोगसँगै वनको समेत संरक्षण भएको छ ।”

वनमारा फाड्ने, सिट्रोनेलाको बिरुवा खरिद गर्ने, रोप्नेलगायतको सुरुआती चरणको काम बाराही सामुदायिक वन उपभोक्ता समूहले गरेको थियो । त्यसपश्चात् रेखदेख, गोडमेल, पानीसहित उत्पादित सिट्रोनेला काटेर प्रशोधनको लागि ढुवानी गरी पठाउने कामको जिम्मेवारी उपसमितिलाई दिइएको छ । “सामुदायिक वनको उपभोक्तालाई जीविकोपार्जनसँग जोड्नलाई सिट्रोनेलाको खेती सुरुआत गरेका हौँ । दुई वटा उपसमिति बनाएर काम गरिरहेका छौँ”, बाराही सामुदायिक वन उपभोक्ता समूहकी सचिव लक्ष्मी प्रधानले भन्नुभयो, “हामीले पहिलो उत्पादन स्वरुप आठ सय ६० किलो सिट्रोनेलाको पात÷घाँस प्रशोधनको लागि चितवन पठाएका छौँ । प्रशोधन भएको सिट्रोनेलाको तेल बिक्रीबाट प्राप्त आम्दानी श्रमिकको दिनको आधारमा गोडमेल र काट्दा लागेको खर्च कटाउँछौँ । बाँकी रहेको ५० प्रतिशत सामुदायिक वनलाई र ५० प्रतिशत उपसमूहलाई रहने गरी भाग लगाउँछौँ ।”

बाराही सामुदायिक वन उपभोक्ता समूहले करिब रु छ लाखको लगानीमा सिट्रोनेला खेतीको सुरुआत गरेको हो । सिट्रोनेला खेतीलाई आवश्यक सिँचाइको सुविधा नहुँदा हुर्काउन समस्या रहेको छ । सिँचाइको सुविधा तत्काल पु¥याउन सकिएमा फागुनमा अर्को उत्पादन लिन सकिने उपभोक्ता समूहले जनाएको छ । त्यस्तै बर्सातको समयमा आँप, लिची, कटहर, कागतीलगायतका प्रजातिको फलफूलको बिरुवा रोपिएको सचिव प्रधानले बताउनुभयो । उहाँको अनुसार पाँच सय फलफूलको बिरुवा रोपिएको थियो ।

डिभिजन वन कार्यलय नुवाकोटका प्रमुख दीर्घनारायण कोइरालाको अनुसार नुवाकोटको तीन सय ७७ वटा सामुदायिक वनमध्ये बाराही सामुदायिक वन उपभोक्ता समूहले मात्रै सिट्रोनेला खेतीको थालनी गरेको छ । प्रशोधनपश्चात् तेल निस्कने जडीबुटीको रुपमा सिट्रोनेलालाई लिने गरिन्छ । सिट्रोनेला तेल विशेष गरी कस्मेटिक सामग्रीलगायत अन्य औषधि निर्माणमा प्रयोग गर्ने गरिन्छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments