बजार नहुँदा बिक्री भएनन् नर्सरीका विरुवा
गोलबजार:सिरहाको लहान नगरपालिका-१९ कटहाका सत्यनारायण महतो विगत १७ वर्षदेखि नर्सरी फार्ममा विरुवा उत्पादन गरिरहनुभएको छ ।
एक विघा क्षेत्रफलमा नर्सरी सञ्चालन गर्दै आउनुभएका उहाँ अब यसलाई बढाएर १५ कठ्ठा पु¥याउने योजनामा हुनुहुन्छ । तर नर्सरीमा भएका विरुवा समयमै बिक्री नहुँदा भने उहाँ चिन्तामा हुनुहुन्छ ।
बिना कुनै तालिम लामो समयदेखि नर्सरीमै व्यस्त रहेको उहाँको परिवारले यतिबेला नयाँ प्रविधि भित्र्याएर उन्नतजातका विरुवा उत्पादन गरिरहेको छ तर बजारमा विरुवाको माग बढ्न नसक्दा आम्दानी संकुचित हुँदै गएको उहाँको भनाइ छ ।
“आम्दानी नराम्रो होइन, अहिले पनि वार्षिक २० लाखको कारोबार गर्छौ”, उहाँले भन्नुभयो, “यद्यपि समयमै विरुवा बिक्री हुन सक्यो भने थप पाँच लाखको कारोबार गर्न सक्ने ठाउँ छ ।”
नर्सरीमा उत्पादन भएका विरुवा समयमै बिक्री नहुँदा नर्सरीमै विरुवा सुक्ने गरेको सत्यनारायणका छोरा नरेशको भनाइ छ । “नर्सरीमा तयार भएका विरुवा बजार अभावका कारण समयमै बिक्री हुननसक्दा विरुवा बिक्री हुन सकेका छैनन”, उहाँले भन्नुभयो, “विरुवाले समयमै बजार नपाउँदा लगानी घाटामा जाने गरेको छ ।”
महतोले नर्सरी बिस्तारका लागि सरकारसँग अनुदानका लागि आग्रह गरे पनि हालसम्म कुनै सरकारी अनुदान प्राप्त नभएको गुनासो गर्नुभयो । “अहिलेसम्म पाँच पटकसम्म अनुदानका लागि आग्रह गरिसकेको छु”, उहाँले भन्नुभयो, “प्रत्येक पटक खाली हात लाग्छ, अहिले त अनुदान नमाग्ने निर्णयमा पुगेको छु ।”
महतोको नर्सरीमा विभिन्न २२ प्रजातिका ८० हजारभन्दा बढी आँपको विरुवा छन् । जसमा मुख्य प्रजातिमा मालदह, बम्बै, कलकत्तिया, दसहरी, अमरपालिलगायत आँपका विरुवा छन् । साथै लिचीमा साही, मझफपुर, सरलेश, चानीजका विरुवा छन् ।
महतोका अनुसार नर्सरीमा कटहर, जामुन, अनार, धुपी, नरिवल, अम्बा, बैर, तेजपात, निम्बु, बेल, अमला, निम, सुपारी, अशोक, सफेद, महगनी, टिक, गमहार, बाँस, रक्तचन्दन, सल्ला, पपिता, केला, मरिच, अङ्गुर तथा घर, अफिस, बगैँचाका लागि उपयुक्त फुल पनि उत्पादन हुँदै आएका छन् ।