चिया किसानलाई प्राविधिक तालिम

चिया बगान

फिक्कल:राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम दिएको छ । दुई हजार सात सय ९० जना चिया किसानलाई प्रदान गरिएको तालिममा चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा प्रयोगात्मक सीप सिकाइएको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताउनुभयो ।

हरियो पत्ती सङ्कलन र उत्पादन गर्ने चिया सहकारीमा आबद्ध किसानलाई समूह बनाएर चिया बगानमै काँटछाँट र गुणस्तरीय टिपाइबारे तालिम दिइएको भट्टराईको भनाइ छ । उहाँका अनुसार, बोर्डले चरणबद्ध रुपमा किसान लक्षित प्रयोगात्मक कार्यक्रम सञ्चालन गरेको हो । उहाँले भन्नुभयो, “यसअघि पनि चियाका लागि धेरै कार्यक्रम भए तर उद्योगसम्म पुगेका कारण चिया किसानले केही जानकारी नपाएको गुनासो आयो । अहिले भने किसानसँगै प्रत्यक्ष रुपमा रहेर पूर्ण प्रयोगात्मक प्रशिक्षण गराउँदै छौँ । व्यावहारिक ज्ञान र सीप एकैपटक सिकाउँदै छौँ ।”

पन्ध्रदेखि ३० जनाको ११ वटा समूह बनाएर प्रत्येक समूहमा दुईजना चिया प्राविधिकबाट तालिम सञ्चालन गरिएको थियो । तालिम जिल्लाको फिक्कल, मङ्गलबारे, इलाम, शान्तिडाँडा, जस्विरे, साँखेजुङलगायत फिल्डमा नै सञ्चालन गरिएको हो ।

त्यस्तै बोर्डले नेपाल सरकारले लागू गरेको चियाको लोगो लिएका १७ वटा चिया उद्योगमा हरियो पत्ती प्रदान गर्ने किसानलाई तालिम प्रदान गरेको छ । बोर्डले तालिका बनाएर जिल्लामा छरिएका सबै समूह समूहमै पुगेर प्राविधिकमार्फत चियाको कटिङसहित मौसमअनुसार काम सिकाउँदै आएको छ ।

परम्परागत रुपमा चियाको टिपाइ गर्दै आएका किसानहरू प्राविधिक तालिम पाएपछि उत्साहित भएका छन् । तालिममा सहभागी किसान रोहित सापकोटाले भन्नुभयो, “यसले आगामी वर्षदेखि चियाको गुणस्तरमा वृद्धि त हुन्छ नै, उत्पादनमा समेत १० प्रतिशतभन्दा धेरैले वृद्धि हुने आशा राखेका छौँ ।” तालिम पाएपछि किसानहरु चिया टिप्न मात्र नभएर मलखादको व्यवस्था, गोडमेल, काँटछाँट जस्ता कामको शैलीमा परिवर्तन भएको छ । उनीहरुले अहिले प्राविधिक उपकरणको प्रयोगसमेत बढाएका छन् । चिया श्रमिकको प्रत्यक्ष अभाव भोग्दै आएका किसानले यही झन्झटबाट मुक्ति पाउन मेसिनको प्रयोग गर्ने गरेका छन् ।

अठार करोडको परियोजनाले तयारी चियामा गुणस्तर कायम राख्न उपभोक्तादेखि बिक्रेता हुँदै किसानसम्मको मार्ग ‘ट्रेसिङ’ गर्ने पनि लक्ष्य राखेको छ । त्यस्तै अग्र्यानिक उत्पादनलाई प्रोत्साहन गरी नेपालको चिया विश्व बजारमा प्राङ्गारिक उत्पादनका रूपमा स्थापित गर्नसमेत सहयोग गर्ने परियोजनाको अपेक्षा छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयको सहभागितामा सुरु भएको परियोजनाले आगामी २०२३ को अप्रिल सम्ममा किसानको आवश्यकता र चियाको सिजन अनुसार कार्य सम्पादन गर्ने लक्ष्य लिएको बोर्डले जानकारी दिएको छ ।

चियालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाली चियाको गुणस्तर अभिवृद्धि गर्न, अग्र्यानिक प्रमाणित भएको चिया निर्यात अभिवृद्धि गर्न, अर्थोडक्स चियाको निर्यात मूल्य वृद्धि गर्न, चिया उत्पादकको आम्दानीमा दिगो सुधार तथा चिया क्षेत्रमा लगानी वृद्धि र थप रोजगारी सृजना गर्ने मुख्य लक्ष्य रहेको बोर्डले जनाएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आठ हजार आठ सय ७६ चिया किसान रहेको इलाममा सात हजार दुई सय ३६ हेक्टरमा चिया खेती गरिएको छ । इलामबाट वार्षिक ६४ लाख ३१ हजार किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments