मच्छिन्द्र मेला, कृषि र पर्यटन ब्यापार महोत्सव हुने

सुन्दरहरैँचा:मोरङको केराबारी गाउँपालिका– ८ स्थित प्रस्तावित रङ्गशालामा यही पुस १३ देखि १९ गतेसम्म मच्छिन्द्र मेला, कृषि र पर्यटन व्यापार महोत्सव २०७९ हुने भएको छ । ऐतिहासिक, धार्मिक , सांस्कृतिक मच्छिन्द्र मेलाको पहिचान् कृषि र आन्तरिक पर्यटन प्रर्बद्वन हाम्रो अभियानका साथ महोत्सव हुन लागेको आयोजक केराबारी व्यापार प्रबन्ध समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

केराबारी प्रवेशद्वार( डिजिटल गेट) निर्माण साथै यहाँको ऐतिहासिक सांस्कृतिक पर्व मच्छिन्द्रनाथ मेलाको अवसरमा आर्थिक मन्दि भएको व्यापार व्यवसायको प्रर्वद्वन गरी कृषि र आन्तरिक पर्यटनको विकासकाका लागि टेवा पु¥याउने मुख्य उद्देश्यका साथ महोत्सव हुन लागेको आयोजक केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन शाहीले जानकारी दिनुभयो ।

उहाँले मेलामा एक सय भन्दा बढी स्टल राखिने तथा ५० हजार दर्शकले अवलोकन गर्ने बताउनुभयो । साथै ५० लाखको आर्थिक कारोबार हुने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो । आयोजकले महोत्वसका लागि अहिले विभिन्न आवश्यक तयारी भइरहेको जानकारी दिएको छ । मेलाको विशेष आकर्षणमा मनोरञ्जनात्मक खेलसहितको उत्कृष्ट बाल उद्यान, विभिन्न विद्यालयबीच शैक्षिक प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारका साथमा दैनिक सांस्कृतिक कार्यक्रमको प्रस्तुति, मच्छिन्द्र मेला पूजा, विभिन्न खेलकुद प्रतियोगिता, नाटक र साहित्यिक मनोरञ्जनलगायतका विविध कार्यक्रम हुने उल्लेख गरिएको छ ।

महोत्सवमा दैनिक उपयोग्य वस्तु तथा सेवा, जडीबुटी कृषि उत्पादन तथा कृषि प्रर्दशनी, साना तथा घरेलु उत्पादन र हस्तकलाका समाग्री, अटोमोबाइल तथा सूचना प्रविधि, गार्मेन्टस तथा फुट्वेयर, फलफूल तथा पुष्प प्रदर्शनी, जातीय पहिचानका समग्री, पर्यटनसम्बन्धी फोटो कला प्रर्शशनी, फेसन सो तथा विभिन्न प्रतिभाको प्रर्दशन रहने आयोजकले बताएको छ ।

महोत्सवबाट स्थानीय र प्रदेश सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई व्यापारिक कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । यहाँको पर्यटकीय र धार्मिक क्षेत्रको प्रचारप्रसार र संरक्षण गरेर ग्रामीण बजारको विस्तार गरी लोप हुनलागेको कला सांस्कृतिको जर्गेना गर्नेसमेत उद्देश्य महोत्सवको रहेको आयोजक समितिका महासचिव टेकवहादुर कार्कीले बताउँनुभयो । उहाँले २०६३ सालमा स्थापना भएको केराबारी व्यापार प्रबन्ध समिति मोरङ व्यापार सङ्घको नवौँ शाखाको रुपमा दर्ता भई सबै भन्दा कान्छो सदस्य रहेर यहाँको बजार क्षेत्रमा सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्ने काम गर्दै आएको छ भन्नुभयो ।

विराटनगरबाट ४६ किलोमिटर उत्तरपूर्वमा रहेको केराबारीलाई क्षेत्रफल र भूगोलको आधारमा मोरङको सबै भन्दा ठूलो गाउँपालिकाको रूपमा लिने गरिन्छ ।

केराबारीमा घरवास (होमस्टे) सँगै पूर्वका विभिन्न १६ जिल्लाको प्राकृतिक विविधता, सूर्योदयको मनोरम दृश्यावलोकन गर्न सकिने जेफाले, भेडेटारलाई विर्साउन सकिने तोपथुम्किडाँडा, धार्मिक सांस्कृतिक रूपमा सप्तगुफा, मनोरम ताल झरना, मगर सङ्ग्रहालय, शिव पार्वती गुफा, भ्यूडाँडा, जैतुनपार्क लगायतका सुन्दरता भएकोले यसको विकास र प्रचारप्रसारका लागि पनि महोत्सव आयोजना गर्न लागिएको उल्लेख गरिएको छ । मेलामा नेपालका चर्चित गायक तथा गायिका राजेश पायल राई, प्रमोद खरेल, एलिना चौहान, लाहुरे, मुन प्रसाइँ, अस्मिता अधिकारी, प्रविशा अधिकारीलगायतका विभिन्न कलाकारका साथ स्थानीय कलाकारको प्रस्तुति रहनेभएको छ । महोत्सवमा वृहत सरसफाइ कार्यक्रमको अभियान र पालिकास्तरिय फुटबल प्रतियोगिता हुने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?