ब्याउन नसकेको भैँसीको शल्यक्रिया गरेर सुत्केरी गराइयो

त्रिशूली:नुवाकोटको बेलकोटगढी नगरपालिका–१ आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमबार शल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ ।

नुवाकोटमा पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा बबलु ठाकुरले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा रहेको प्राविधिक टोलीले ब्यथा लागेको एक सातासम्म ब्याउन नसकी छटपटाएको भैँसीको सोही गोठमा नै ‘शल्यक्रिया कक्ष’ बनाएर गरिएको शल्यक्रिया सफल भएको हो ।

“सुत्केरी हुन समय पुगेको उक्त भँैसी ब्यथा लागेको एक सातासम्म पनि ब्याउन नसकेपछि एकमात्र अन्तिम विकल्पको रुपमा रहेको शल्यक्रियामार्फत पेट चिरेर पाडो निकालियो ।” पशु सेवा विज्ञ केन्द्रका डा.ठाकुरलले भन्नुभयो, “पेटमा नै बच्चा (पाडो) मरेको भएर सुत्केरी हुन नसकेको रहेछ, शल्यक्रियापश्चात माउको स्वास्थ्य राम्रो छ । घाँसपानी खान थालेको छ ।”

केन्द्र प्रमुख भरत पाण्डेले जिल्लामा पशुचौपाय ब्याउन नसक्दा पाठेघरमा हात हालेर निकाल्ने गरेको भए पनि शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक र सफलसमेत भएकाले उत्साह जगाएको बताउनुभयो । यसअघिका समयमा सुत्केरी हुन नसकी धेरै पशुचौपाय गुमाउनुपरेको थियो । अब किसानको लागि पशुधनको सुरक्षा र कार्यालयको लागि सेवा प्रवाहमार्फत किसानको विश्वास जित्न मनोबल उच्च भएको उहाँको भनाइ छ ।

“दरबन्दी र बजेट कटौतीले दुई जिल्ला (नुवाकोट र रसुवा) हेर्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भूमिका बनिरहेको थियो”, उहाँले भन्नुभयो, “दक्ष चिकित्सकको क्षमताले गोठमा नै ‘शल्यक्रिया कक्ष’ खडा गरेर जीवाणुबाट सुरक्षित बनाउनुपर्ने चुनौतीको बीच सफल भएको शल्यक्रियाले केन्द्रलाई उत्साह र किसानका लागि खुसीको सन्देश प्रवाह भएको छ ।”

गत भदौदेखि नुवाकोटमा कार्यरत पशु चिकित्सक डा बबलु ठाकुरको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको शल्यक्रियाको सफलताले नुवाकोट र रसुवाका किसानका लागि पुशधनको सुरक्षा र पशुपालनप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने देखिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?