बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युत्का भरमा

ढोरपाटन:पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युत्को भरमा छन् ।

भौगोलिक विकटताका कारण यहाँका कैयौँ बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्न सकेको छैन । अघिल्लो वर्ष मात्रै विद्युत् प्राधिकणले बुर्तिबाङ बजारसम्म केन्द्रीय लाइन पु¥याएको छ । यहाँका लघु जलविद्युत बर्खाका समयमा भने बन्द हुन्छन् । कहिले पहिराले नहर त कहिले बाढीले मुहान बगाउँदा यहाँका बस्ती अध्याँरोमा पर्दछन् ।

यसले गर्दा वर्षातको दुई÷तीन महिना यस क्षेत्रका स्थानीय अन्धकारमा बस्न बाध्य हुन्छन् । पश्चिम बागलुङ मात्रै नभई जिल्ला सदरमुकामसँग जोडिएका केही गाउँमा पनि अवस्था उस्तै छ । लघु जलविद्युतको खपत बढ्दै जाँदा घरेलु तथा साना उद्योगहरु पनि सञ्चालनमा समस्या आउने गरेको छ । ग्रामीण क्षेत्रका लघु जलविद्युतहरुको क्षमता ८० देखि १५० किलोवाटसम्म मात्र छ । जसले गाउँमा साना उद्योग सञ्चालनमा समस्या हुने गरेको हो ।

गत असोजको अन्तिम साता पहिरोले विद्युत गृहमा क्षति पु¥याएपछि निसीखोला लघु जलविद्युत आयोजना १० गतेसम्म बन्द भयो । झण्डै तीन महिना विद्युत बन्द हुँदा यहाँका घरेलु उद्योग सञ्चालकहरु समस्यामा परेको स्थानीय लिलाबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले यहाँ स्थानीयहरुले विद्युतीय मेसिनबाट उनको कपडा बुन्दै आएको भन्दै तीन महिनादेखि विद्युत अवरुद्ध हुँदा आफूहरुले लाखौँको नोक्सानी बेहोर्नु परेको बताउनुभयो ।

“दसैँ अगाडिदेखि बन्द भएको बिजुली बल्ल आएको छ, यतिका महिनासम्म अन्धकारमा बस्यौँ, सानो उद्योग सञ्चालन गरेका थियौँ, यतिका बेलासम्म बिजुली बन्द हुँदा उद्योग सञ्चालन भएन, लाखौँका सामानको माग आएको थियो, कच्चा पदार्थ जम्मा गरेर काम्लो, हापदुला (भेँडाको रौँबाट बनाइएको कपडा) बनाउने तयारीमा थियौँ, लाइन गएपछि काम सबै रोकियो, माग गरेकाहरुले पनि अन्तैबाट किनेछन्, त्यसले गर्दा हामीलाई घाटा लाग्यो ।”

उहाँले बर्खाको समयमा धेरै पटक अन्धकारमा बस्नु पर्ने बाध्यता रहेको भन्दै दीर्घकालीन समाधानका लागि केन्द्रीय प्रशारण लाइननै आउनुपर्ने बताउनुहुन्छ । केन्द्रीय लाइन विस्तार नभएसम्म अन्धकारमा बस्नुपर्ने नियती दोहोरिइरहने घर्ती मगरको भनाइ छ । सरोकारवाला निकायलाई पटक–पटक केन्द्रीय लाइन विस्तारका लागि आग्रह गर्दा पनि सुनुवाइ हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।

ढोरपाटन नगरपालिका–९ का कुलबहादुर विकले आफूहरु वर्षौँदेखि अन्धकारमा बस्दै आएको बताउनुभयो । बर्खामा ढोरपाटन र हिउँदमा बोबाङ बस्ने विकले ढोरपाटनमा बस्दा दियालो र टुकीको भरमा रात कटाउनु पर्ने बताउनुहुन्छ । अहिलेसम्म ढोरपाटनमा विद्युत नपुग्दा सञ्चारको पहुँचबाट टाढा हुनु परेको विकको भनाई छ । सरकारले अहिले बल्ल ढोरपाटनमा केन्द्रीय विद्युत विस्तारका लागि पोल व्यवस्थापन गर्न थालेको विकले बताउनुहुन्छ ।

“अहिलेको युग सूचना र प्रविधिको युग हो, बोबाङमा बस्दा त मोबाइल सामाजिक सञ्जाल चलाउन पाइन्छ, रेडियो, टेलिभिजनबाट देश विदेशका सूचना समाचारहरु सुन्न र हेर्न पाइन्छ, ढोरपाटनमा बस्दा अन्धकारमा गुमनाम जस्तै भइन्छ,” विकले भन्नुभयो – “ढोरपाटनका केही ठाउँमा त बिजुली बलेको छ, तर हामी बस्ने ठाउँमा अहिलेसम्म त्यो सुविधा पुगेको छैन, दुई÷चार वर्षमा पुग्ने आशा गरेका छौँ ।”

तमानखोला गाउँपालिका–४ का पूर्ण सिर्पालीले लघु जलविद्युत आयोजनाले गाउँमा बत्ति बाल्न बाहेक अरु काम गर्न नसकिने बताउनुभयो । यहाँ सञ्चालित विद्युतको कम क्षमताको हुँदा कुटानी पिसानीका लागि मिल सञ्चालन गर्न समस्या भएको सिर्पालीको भनाई छ । उहाँले खाना पकाउन र साना उद्योगका लागि गाउँमा सञ्चालित विद्युतले थेग्न नसक्ने भन्दै केन्द्रीय लाइनको आवश्यता परेको बताउनुभयो ।

“गाउँ ठूलो छ, बिजुली प्रयोग गर्ने जनसङ्ख्या पनि धेरै छ, तर विद्यतु उत्पादनको क्षमता कम छ, त्यसले गर्दा यहाँ भएको बिजुलीबाट बत्ति बाल्नेबाहेक धेरै काम गर्न सक्ने अवस्था छैन, राइस कुकरमा भात पकाउन पनि सकिँदैन,” सिर्पालीले भन्नुभयो, “अब केन्द्रीय लाइन नआएसम्म यहाँ साना उद्योग सञ्चालन गर्न पनि गाह्रो देखिन्छ, गाउँमा दिदीबहिनीले ढाका उद्योग सञ्चालन गर्नुभएको छ, विद्युतका कारण रातीमा काम गर्न समस्या छ ।”

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जिल्लाको १० वटै पालिकामा विद्युत पु¥याउने गरी काम गरेको बताउनुभयो । उहाँले केन्द्रीय लाइनले अहिलेसम्म नजोडिएको पालिका तमानखोला रहेको भन्दै तमानखोलाको केन्द्र बोङ्गादोभानसम्म तत्काल पु¥याउने गरी लाइन विस्तार गर्न थालिएको बताउनुभयो । बुर्तिबाङ बजारदेखि नजिकै रहेका निसीखोला र तमानखोलामा केन्द्रीय प्रशारण लाइन तीव्र गतिमा विस्तार भइरहेको मरासेनीको भनाइ छ ।

जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिका केही वर्ष पहिलेनै केन्द्रीय प्रशारण लाइनले जोडिए पनि ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिकाको केही गाउँहरुमा गत वर्ष मात्रै केन्द्रीय लाइन पुगेको थियो । यसवर्ष निसीखोला गाउँपालिका–७ को भाँजा र चोलाङमा लाइन पु¥याएको प्रमुख मरासेनीले बताउनुभयो ।

“बागलुङका केही ठाउँमा अहिलेसम्म केन्द्रीय लाइन पुगेको छैन, तर ती ठाउँमा स्थानीय हाइड्रो मार्फत विद्युत सेवा लिनुभएको छ, भौगोलिक विकटता र सीमित बजेटका कारण सबै ठाउँमा केन्द्रीय प्रशारण लाइन पुग्न सकेको छैन” केन्द्र प्रमुख मरासेनीले भन्नुभयो, “यो वर्ष धेरै ठाउँमा काम गर्न थालेका छौँ, पश्चिम बागलुङका गाउँहरुमा केन्द्रीय लाइन बल्ने छ, केही बजेटका लागि केन्द्रमा पहल थालेका छौँ ।”

उहाँले बागलुङ सदरमुकाम नजिकका अधिकांश गाउँमा केन्द्रीय लाइन पुगिसकेको दाबी गर्नुभयो । पश्चिम बागलुङका लागि गलकोटमा सव स्टेशन निर्माण गरेर पुनः सञ्चालन गरेको भन्दै बुर्तिबाङमा पनि १३२ केभीको सव स्टेशन निर्माण गरिने बताउनुभयो । यसवर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पु¥याउने गरी काम तीव्र रुपमा भएको उहाँको भनाई छ ।

मरासेनी भन्नुहुन्छ “दूर दराजका गाउँसम्म विद्युतीकरणका लागि हामीहरु तीव्र रुपमा लागेका छौँ, कतिपय ठाउँमा अब केही समयमै बत्ति बल्छ भने यो आर्थिक वर्ष सकिने बेलासम्म ढोरपाटनमा पनि केन्द्रीय लाइन पुग्ने छ, अहिले त्यसका लागि पोल गाड्ने, लाइन तान्ने काम भएका छन्, यता जैमिनी र बरेङ गाउँपालिकाका केही गाउँमा लाइन पुगेको छैन, ती गाउँमा पनि यसै वर्ष पुग्छ ।”

मरासेनीका अनुसार बागलुङका ९८ प्रतिशत नागरिकले विद्युत प्रयोग गर्न पाएको बताउनुहुन्छ । जिल्लामा ९८ वटा लघु जलविद्युत् रहेको उहाँको भनाइ छ । जिल्लाको निसीखोला गाउँपालिका–६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत् तथा केन्द्रीय प्रशारण लाइन कुनै पनि पुग्न सकेको छैन । यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?