उखु, बेसार र अदुवा उत्पादन गर्दै सहकारी

उखुखेती

गलकोट:बागलुङको सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले उखु बिक्री गर्न थालेको छ वर्ष पुग्यो । सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छ । सहकारी संस्थाले अहिले प्रतिवर्ष १५ देखि २० क्विन्टल उखु बिक्री गर्दै आएको छ ।

यस वर्षको उखु प्रतिकेजी रु १५ का दरले बिक्री गरिएको सहकारीका अध्यक्ष चुडामणि उपाध्ययले जानकारी दिनुभयो । संस्थाले बागलुङ नगरपालिका–४ कुडुँलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसार खेती र बागलुङ नगरपालिका–७ तितौरेमा दुई रोपनी जग्गामा अदुवा खेती गर्दै आएको छ ।

कतिपय सहकारीहरू उद्देश्यअनुरुप नचलेको सन्दर्भमा सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले थोरै लगानीमा भए पनि उखु, बेसार र अदुवा खेती गरेको छ । “सहकारीको सानो प्रयासमात्रै भएको छ, बजारीकरणका लागि उखु र बेसार पेल्ने औजार खरिद गरेका छौँ, सेयर सदस्य किसानले समेत उत्पादन गरेको उखु, बेसार र अदुवा पिसेर ब्राण्डिङ गरेर बिक्री गर्ने सहकारीको लक्ष्य छ”, अध्यक्ष उपाध्ययले भन्नुभयो “उत्पादन गर्ने क्षमता बढाउँछौँ, किसानको उत्पादनलाई समेत खरिद गर्नेछौँ र सहकारीको नामबाट बजारीकरण गर्ने हाम्रो लक्ष्य हो ।”

संस्थाले सेयर सदस्यलाई समेत व्यावसायिक उत्पादनमा जोड दिनका लागि सापटमा बेसारको बीउसमेत उपलब्ध गराउँदै आएको सहकारीका कोषाध्यक्ष तथा अगुवा कृषक जग्गन्नाथ सापकोटाले बताउनुभयो । उहाँले उत्पादन भइरहेको बेसारलाई बीउका रूपमा सेयर सदस्यलाई सापटी दिइएको छ भने अहिले उत्पादन भएको बेसारलाई खनेपछि बिक्री गर्ने लक्ष्य सहकारीको छ ।

“गत वर्ष पाँच क्विन्टल बेसार उत्पादन भएको थियो, केही किसानलाई बीउको रूपमा वितरण गरियो, अहिले पानी परेपछि बेसार खन्ने तयारीमा छौँ”, सापकोटाले भन्नुभयो ।

उहाँले पाँच केजी अदुवाको बीउ दिएको कृषकलाई उत्पादनपछि छ केजी फिर्ता गर्नेगरी किसानलाई प्रवद्र्र्धन गरिरहेको बताउँदै सापकोटाले सेयर सदस्य किसानको उत्पादनलाई बजारीकरण समेत गर्न सहयोग गरिरहेको बताउनुभयो । कोषध्यक्ष सापकोटाका अनुसार सहकारी संस्थाको सेयरपूँजीको ४० प्रतिशतभन्दा बढी लगानी व्यावसायिक उत्पादनमा लगाउने गरी सहकारी अगाडि बढेको छ ।

हाल सहकारीमा सात सय ७३ सेयर सदस्य रहेका छन् भने रु एक करोड ३३ लाख सेयरपूँजी रहेको छ । सहकारीले २०७५ सालबाट भिमापोखरामा उखुखेती गरेको छ भने दुई वर्षदेखि कुडुँलेमा बेसार र तितौरेमा अदुवा खेती गरिरहेको छ ।

सहकारीले साधारणसभाको अवसरमा सेयर सदस्यलाई तरकारी खेती गर्नका लागि निःशुल्क बीउ वितरण गर्दै आएको छ । सहकारीले कृषिप्रति आकर्षण गराउनका लागि विभिन्न स्थानमा पुगेर कृषि मेला प्रदर्शनी गर्ने कृषि ज्ञान केन्द्रसँग मिलेर धान दिवस मनाउने, सहुलियत मूल्यमा संस्थाबाट नियमित बीउ बिक्री गर्ने र सेयर सदस्यले पालेको पशुको निःशुल्क गोबर परीक्षण र औषधि वितरणसमेत गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?