नुवाकोटमा भैसीँको शल्यक्रिया गरेर सुत्केरी सफल बनाएका डा.बबलु ठाकुर [भिडियो]

त्रिशूली: नुवाकोटको बेलकोटगढी नगरपालिका–१ आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैसीँको शल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ ।

नुवाकोटमा पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलो पटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा.बबलु ठाकुरले जानकारी दिनुभयो ।

उहाँको नेतृत्वमा रहेको प्राविधिक टोलीले ब्यथा लागेको एक सातासम्म ब्याउन नसकी छटपटाएको भैसीँको सोही गोठमा नै ‘शल्यक्रिया कक्ष’ बनाएर गरिएको शल्यक्रिया सफल भएको हो ।

“सुत्केरी हुन समय पुगेको उक्त भैसीँ ब्यथा लागेको एक सातासम्म पनि ब्याउन नसकेपछि एकमात्र अन्तिम विकल्पको रुपमा रहेको शल्यक्रिया मार्फत पेट चिरेर पाडो निकालियो ।” पशु सेवा विज्ञ केन्द्रका डा.ठाकुरलले भन्नुभयो “पेटमा नै बच्चा (पाडो) मरेको भएर सुत्केरी हुन नसकेको रहेछ, शल्यक्रिया पश्चात हालसम्म माउको स्वास्थ्य अवस्था राम्रो छ ।

यही सोमबार शल्यक्रिया गरिएको भैँसीले अहिले घाँसपानी खान थालेको छ भने दूध पनि दिन थालेको छ । ”
केन्द्र प्रमुख भरत पाण्डेले नुवाकोटमा पुशचौपाय ब्याउन नसक्दा पाठेघरमा हात हालेर निकाल्ने गरेको भएपनि शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलो पटक र सफल समेत भएकाले उत्साह जगाएको बताउनुभयो ।

यसअघिका समयमा सुत्केरी हुन नसकी धेरै पशुचौपाय गुमाउनु परेको थियो । अब किसानको लागी पशुधनको सुरक्षा र कार्यालयको लागी सेवा प्रवाह मार्फत किसानको विश्वास जित्न मनोबल उच्च भएको केन्द्र प्रमुख पाण्डेको भनाई छ ।

“दरबन्दी र बजेट कटौतीले दुई जिल्ला (नुवाकोट र रसुवा) हेर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भूमिका बनिरहेको थियो ।” उहाँले भन्नुभयो “दक्ष चिकित्सकको क्षमताले गोठमा नै ‘शल्यक्रिया कक्ष’ खडा गरेर जीवाणुबाट सुरक्षित बनाउनुपर्ने चुनौतीको बीच सफल भएको शल्यक्रियाले केन्द्रलाई उत्साह र किसानको लागी खुसीको सन्देश प्रवाह भएको छ ।”

गत भदौदेखि नुवाकोटमा कार्यरत पशु चिकित्सक डा.बबलु ठाकुरको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको शल्यक्रियाको सफलताले नुवाकोट र रसुवाको किसानको लागी पुशधनको सुरक्षा र पशुपालन प्रतिको आकर्षण बढाउन सहयोग पुग्ने देखिन्छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?