नदीको पानी पुगेपछि लिही र लर्मीका बासिन्दा खुसी

सिँचाइ सुविधा

जुम्ला:तिला गाउँपालिका–२ स्थित लिही र लर्मी गाउँमा लिफ्ट योजनाबाट तिला नदीको पानी गाउँमै पुगेपछि स्थानीयमा खुसियाली छाएको छ ।

वर्षौंदेखि आकासे पानीको भरमा रहेका उक्त गाउँका बासिन्दालाई अनुकूलन कोषको आर्थिक सहयोगमा वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमले स्थानीय साझेदार संस्था पेस नेपालमार्फत २०१९ देखि काम गरिँदै थियो । चारवर्षे क्याफ्स कर्णाली परियोजनाले लिफ्ट सिँचाइ योजनाबाट गाउँमा पानी पुगेको लिही लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष हरिलाल रावतले जानकारी दिनुभयो ।

“सुरुमा लिफ्ट योजना सौर्य ऊर्जाबाट सञ्चालन गर्ने योजना थियो, तर परियोजनाले उक्त आयोजनाको दिगोपनका लागि निकट भविष्यमा जोडिँदै गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनको सुनिश्चितता पर्खिरहेका थियौँ”, उहाँले भन्नुभयो । जिल्लामा राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा आएपछि मात्र आयोजनाको निर्माण कार्य सुरु गरिएको थियो ।

अन्ततः पहाडको टुप्पोमा नदीको पानी लिफ्टमार्फत पु¥याएर समुदायको सपना साकार भएको समितिका अध्यक्ष रावतले जानकारी दिनुभयो । “नदीको पानी गाउँमा पुग्ला भन्ने विश्वास गरेका थिएनन्, परियोजनाबाट पानी पुगेपछि यसमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालादेखि स्थानीय सरकारलाई धन्यवाद दिँदै स्थानीय नन्ददेवी बोहराले भन्नुभयो, “लिही र लर्मी गाउँका बासिन्दाको सपना साकार भयो, अब हिउँदे याममा तरकारी लगाउन, स्याउ र ओखरसहित अन्य अन्नबालीको खेतीमा सिँचाइ गर्न सहज हुने छ ।”

यस आयोजनाले ३२ हेक्टर जमिनमा सिँचाइ गर्न सक्ने गरी ६० एचपी पम्पिङ संरचना सहितको इन्टेक, एक सय केभी विद्युतीय ट्रान्सफर्मर सहितको पावरहाउस, एक हजार तीन सय २० मिटर मुख्य पाइपलाइन, एक सय घनमिटरको रिजर्भवायर ट्याङ्की र चार ३० घनमिटरका वितरण पोखरी निर्माण गरेको छ ।

आयोजनाको कूल लागत रु एक करोड ३५ लाख ११ हजार चार सय ६२ रहेको छ । तयसमा समुदायका धेरैजसो घरधुरीले छोटो चरणको रोजगारी प्राप्त गरी आफ्नो बैंक खातामा ज्यालाका रूपमा रु २५ लाख २४ हजार १८ प्राप्त गरेका छन् । आयोजनालाई दिगो रूपमा सञ्चालन गर्न स्थानीय सरकारलाई हस्तान्तरण गरिने पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले बताउनुभयो । अन्य सिँचाइ प्रणालीको तुलनामा लिफ्ट सिँचाइ प्रणाली तुलनात्मक रूपमा महँगो पर्ने बताइन्छ ।

यसले स्थानीय समुदायको उत्पादन र जीविकोपार्जनमा सुधार ल्याउनाका साथै जलवायु परिर्वतन अनुकूलनमा टेवा पुग्ने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । तिला–२ वडाध्यक्ष चन्द्रबहादुर बोहराका अनुसार सो आयोजनाबाट तीन सय ३८ घरधुरीलाई प्रत्यक्ष रूपमा फाइदा पु¥याएको र व्यावसायिक फलफूल तथा तरकारी खेती गर्न मद्दत पुगेको उहाँको भनाइ छ ।

गाउँपालिकाको लिही, लर्मी र रारा गाउँमा सिँचाइका लागि पानीको अभाव प्रमुख समस्या हुने गरेको छ । हिउँदे याममा खेतीपातीको समयमा पानीका मुहान सुक्दा कृषक वर्षाको पानीमा मात्रै भर पर्नुपरेको थियो । यस क्षेत्रमा फलफूल खेती विशेषगरी स्याउ, ओखर तथा तरकारी खेतीको उच्च सम्भावना रहेको छ । कर्णाली राजमार्ग नजिकै रहेका उक्त गाउँमा उत्पादनलाई राम्रो मूल्यमा बेच्नका लागि बजार उपलब्ध हुने अवस्था छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?