‘अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान उल्लेखनीय’

चितवन:नेपालको अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान उल्लेखनीय रहेको बताइएको छ । दशौँ पोल्ट्री दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरुले अर्थतन्त्रमा उल्लेखनीय योगदान दिने पोल्ट्री क्षेत्रलाई राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो ।

नेपाल कुखुरा व्यवसायी मञ्च र बागमती प्रदेशको कृषि तथा पक्षी विकास मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा मन्त्रालयका पशु विकास अधिकृत निशान्त शर्मा गेलालले अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान चारदेखि पाँच प्रतिशत रहेको बताउनुभयो ।

आर्थिक वर्ष २०७७÷७८ अनुसार कृषिजन्य कूल ग्राहस्थ उत्पादनमा पोल्ट्रीले आठ प्रतिशत ओगटेको उहाँको भनाइ छ । कार्यपत्र प्रस्तुत गर्दै गेलालले अर्थतन्त्रमा बलियो योगदान दिने यस क्षेत्रबाट वार्षिक मासु उत्पादनमा ४३ प्रतिशत क्षेत्र ओगटेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा कूल पाँच लाख २० हजार सात सय ४२ मेट्रिकटन मासु उत्पादन हुने गरेकामा पोल्ट्री क्षेत्र (कुखुरा र हाँस) ले दुई लाख २७ हजार चार सय एक मेट्रिकटन मासु उत्पादन गरेको छ ।”

यस्तै गत आर्थिक वर्षमा रु एक अर्ब ४९ करोड ३५ लाख ५० हजार गोटा अण्डा उत्पादन भएको कार्यपत्रमा उल्लेख छ । कार्यक्रममा फिजिसिन डा भोजराज अधिकारीले मानव स्वास्थ्यका लागि मासु र अण्डाको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

उहाँले मानव स्वास्थ्यका लागि आवश्यक सम्पूर्ण तत्व अण्डा र कुखुराको मासुमा हुने बताउनुभयो । बिहान खाजाका रुपमा अण्डाको प्रयोग प्रत्येक दिन गर्नु स्वास्थ्यका लागि फलदायी हुने उहाँको भनाइ छ । सेतो मासु हप्तामा तीन दिन खानु उपयुक्त हुने उहाँले जानकारी दिनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक रेवन्तकुमार भट्टराईले कुखुराको मासु उत्पादन गरेको आधारमा नेपाल विश्वको ११२औँ स्थानमा रहेको बताउनुभयो । अण्डा उत्पादनका दृष्टिले भने ९२औँं स्थानमा रहेको उहाँले जानकारी दिनुभयो । नेपालमा पोल्ट्री क्षेत्रमा रु एक खर्ब ५० अर्ब लगानी रहेको अनुमान गरिएको उहाँको कार्यपत्रमा उल्लेख छ ।

उद्योग सङ्घका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण आर्थिक क्षेत्र चलायमान बन्न नसकेको बताउनुभयो । चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा ल्याउन खोज्दा व्यवसायी मर्कामा परेको उहाँको भनाइ थियो ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले बैंकहरुका कारण अहिले व्यवसायी पलायन हुन थालेको बताउनुभयो । पछिल्लो समय पोल्ट्री क्षेत्रमा निरासा छाउँदै गएको भन्दै उहाँले राज्यको अनुभूति व्यवसायीले गर्न पाउनुपर्ने बताउनुभयो ।

बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले प्रदेश सरकार पोल्ट्री क्षेत्रको समस्या समाधान र सुधारका लागि लागिपरेको बताउनुभयो । सरकार एक्लैले मात्रै गर्न नसक्ने भन्दै उहाँले एकताबद्ध भएर चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन प्रा डा होमबहादुर बस्नेत, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, ह्याचरी उद्योग सङ्घका अध्यक्ष ऋषिराम पौडेल, नेपाल दाना उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेल, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने लगायतले पोल्ट्री व्यवसायको समस्या समाधानमा जोड दिनुभएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?