आफ्नै कमाइमा रमाउँदै मुक्त कमलरीहरु

कुखुरा र माछाको तस्करी

देउखुरी:घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरकी निशा चौधरी पूर्वकमलरी हुनुहुन्छ । विसं २०६४ मा कमलरीबाट मुक्त भएपछि उहाँले आइएम नेपाल र मुक्त कमलरी विकास मञ्चले दिएको कुखुरा काट्ने तालिम गर्नुभयो ।

सोही तालिमले उहाँलाई व्यवसायी बनाएको छ । घोराही–४ लक्ष्मीपुरमा मासिक रु तीन हजार दिने सर्तमा कोठा भाडामा लिएर निशा फ्रेस हाउसका नाममा उहाँले कुखुरा काट्न सुरु गर्नुभयो । पहिले एक्लै सुरु गरेको व्यवसाय अहिले श्रीमान्ले पनि सघाउने गरेको उहाँले बताउनुभयो । भारतमा कामका लागि गएका श्रीमान् गोपाल चौधरीलाई गत वर्ष घर बोलाएर सँगसँगै व्यवसाय गरेको उहाँँको भनाइ छ ।

मुक्तकमलरी विकास मञ्च र आइएम नेपालको सहयोगमा श्री उज्ज्वल पशुपालन महिला समूह गठन गरिएको छ । सो संस्थामा सदस्य रहेर उहाँँले मासिक बचत र अन्य जीवन उपयोगी सीप सिकेको बताउनुभयो । स्वदेशमा केही गर्नुपर्छ भन्ने कुरा पनि समूहमा सिकेकाले घर बाहिर रहेका श्रीमान्लाई घर बोलाएको उहाँँको भनाइ छ ।

धेरै कुरा जान्न मिलेको र व्यवसाय गर्न हौसला मिलेको चार जनाको परिवारलाई सजिलोसँग खर्च पुगेको छ । घरखर्च र पढाइखर्च सबै फ्रेस हाउसको आम्दानीले धानेको उहाँले बताउनुभयो । अब श्रीमान्श्रीमती दुवै मिलेर व्यवसायलाई थप गरेर स्वदेशमा आम्दानी गर्ने विचार उहाँको छ ।

घोराही–४ सुनपुरकी सुधनी चौधरी पनि पूर्वकमलरी हुनुहुन्छ । उहाँले व्यावसायिकरुपमा बङ्गुरपालन गर्नुभएको छ । संस्थाले स्थापना गरेको सुनौलो पशुपालन महिला समूहमा आबद्ध भएर उहाँले व्यावसायिकरुपमा बङ्गुरपालन गर्नुभएको हो । उहाँले विपन्न वर्गको उत्थानका लागि उपलब्ध गराउँदै आएको घुम्ती कोषबाट रु २० हजार निःशुल्क ब्याजमा ऋण लिएर व्यावसायिक बङ्गुरपालन गरेको बताउनुभयो ।

तीन बङ्गुरबाट व्यवसाय सुरु गरेका उहाँसँग अहिले २० बङ्गुर छन् । उहाँले छुट्टाछुट्टै सात खोर बनाउनुभएको छ । साना र ठूलालाई अलगअलग स्थानमा राख्न सकिने व्यवस्था छ । उहाँले बङ्गुरपालनसँगै तरकारी खेती पनि गर्नुभएको छ । बङ्गुर र तरकारी खेतीले आम्दानी प्रशस्त भएको उहाँँको भनाइ छ ।

मुक्त कमलरी र विपन्न परिवारको जीवनमा परिवर्तन गर्न आइएम (स्विडीस्) संस्थाको सहयोगमा व्यावसायिक कृषि, सरसफाइ, समूह व्यवस्थापन, घुम्ती कोष परिचालनजस्ता विविध विषयमा संस्थाले सहजीकरण गर्ने गरेको छ । दाङको घोराही उपमहानगरपालिकाभित्रका तीन वडामा १३ समूह बनाएर महिलालाई सशक्तीकरणका लागि सहजीकरण गरिएको छ ।

मुक्त कमलरी आर्थिक तथा सामाजिकरुपमा सशक्त हुनुपर्छ भन्ने मान्यताका साथ ४२ सहकारी र एक समूहमार्फत आयआर्जनका विभिन्न काम भइरहेका छन् । सहकारीमा १४ हजार सात सय २१ सदस्य रहेका छन् ।

सहकारीबाट घुम्ती कोष अनुदान सहयोग लिएर तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, किराना पसल र नास्ता पसल सञ्चालन गरेर आयआर्जन गर्दै आएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हीरा चौधरीले जानकारी दिनुभयो । उहाँले मुक्त कमलरी सबैलाई आयआर्जनमा जोडेर जीवन परिवर्तन गर्न खोजेको बताउनुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments