‘युवाका लागि बाख्रा गाउँ अभियान’ले ल्याएको समृद्धि

वालिङ:स्याङ्जाको वालिङ नगरपालिका–१० ढकालडाँडाका रुक्मागत ढकालले बाख्रापालनबाट वार्षिक रु नौ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । बजारमा खसी तथा बोकाको माग उच्च रहेको र बजारको माग धान्न नसकेको बुझेपछि आफूले पनि बाख्रापालन गर्ने निधोमा पुगेको उहाँले बताउनुहुन्छ ।

खसी तथा बोका मासुका लागि र पाठीहरु बीउका लागि बिक्री हुने गरेको छ । “खसी तथा बोका मासुका लागि प्रतिकेजी रु सात सयका दरले बिक्री हुने गरेको छ”, उहाँले भन्नुभयो, “वार्षिक रु सात लाखभन्दा बढीको मासुका लागि मात्रै खसीबोका बिक्री हुन्छ भने बाँकी पाठीहरु बीउका लागि बिक्री हुँदै आएको छ ।”

मासुका लागि स्थानीय बजारमा माग उच्च रहे तापनि आफूले २५ प्रतिशत पनि पु¥याउन नसकेको उहाँ दाबी गर्नुहुन्छ । खोर व्यवस्थापनको समस्याले गर्दा ७५ वटा साना ठूला बाख्रा उहाँसँग अहिले छ । “खोरको व्यवस्थापनका कारण ७०–७५ भन्दा धेरै बाख्रा खोरमा राख्दिन”, उहाँले भन्नुभयो, “त्योभन्दा धेरै भएका बिक्री गर्दै आएको छु, खोर थप गरेर अझै व्यवस्थित गर्दै अगाडि बढ्ने तयारीमा छु ।” विसं २०७४ मा ‘गह्रौँकालिका व्यावसायिक बाख्रापालन फार्म’ दर्ता गरी उहाँले व्यवसाय थाल्नुभएको हो ।

नौ वर्ष दिल्लीमा फेसन डिजाइनर तथा ११ वर्ष कतारमा रोजगारी गर्नुभएका ४६ वर्षीय ढकालले आफ्नै गाउँमा फर्केर पाँच वर्षअघिबाट व्यावसायिक बाख्रा पाल्न थाल्नुभएको हो । “विदेशी भूमिमा २० वर्ष बिताएँ तर त्यहाँभन्दा आफ्नै देशमा, गाउँ ठाउँमा केही गर्न पाए हुन्थ्यो भन्ने कुरा मनभित्र खेलिरहन्थ्यो”, उहाँले भन्नुभयो, “स्वदेश फर्केसँगै सम्भावनाको खोजी गर्दै जाँदा बाख्रापालन राम्रो हुने ठानेर खोर निर्माण गरी बाख्रा पाल्न थालेको हुँ ।”

रु छ लाखको लगानीमा खोर निर्माण गरी सुरुमा २१ वटा बाख्रा पाल्न थाल्नुभएको हो । बाख्रापालनका लागि आवश्यकपर्ने डाले घाँस तथा उन्नत घाँसले उहाँले लगाउनुभएको छ । अहिले कृषिका लागि बैंकले सहुलियत दरमा कर्जा दिने भने पनि त्यो वास्तविकरुपमा व्यवहारमा प्रयोग हुन नसक्दा वास्तविक किसान मर्कामा पर्दै गएका उहाँको दुखेसो छ । “बैंकले लगानी गर्नका लागि मुख्य राजमार्गसँग जोडिएका वा सहर बजारका घर घडेरी, जग्गा खोज्छ”, उहाँले भन्नुभयो, “गाउँमा काम गर्ने हामीसँग त्यस्तो जग्गा कहाँबाट हुन्छ ?”

गुणस्तरीय दाना बजारमा नपाइने, पाइहाले पनि महँगो पाइने तर खसीबोकाको मूल्यवृद्धि नहुने कारणले गर्दा पनि व्यवसायी मर्कामा परेको उहाँ बताउनुहुन्छ । दाना तथा औषधिको मूल्य बढ्यो तर खसीबोकाको मूल्य बढेन । लागत मूल्य बढ्न जाँदा पनि व्यवसायी समस्यामा पर्ने गरेको गुनासो व्यवसायी ढकालको छ । “मेहनत गर्नसके कृषि तथा पशुपालनबाट राम्रो आम्दानी लिन सकिन्छ”, उहाँले भन्नुभयो, “तर किसान तथा व्यवसायीका लागि राज्यले साह्रोगाह्रोमा अभिभावकीय भूमिका खेल्दिनुपर्छ ।”

पुतलीबजार नगरपालिका–१३ ज्यामिरेका शेषकान्त सुवेदी पनि झण्डै १४ वर्ष विभिन्न देशमा रोजगारीपछि स्वदेश फर्केर व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । तीन वर्षअघि आँधीखोला एग्रो फर्म दर्ता गरी स्थानीय खरी तथा उन्नत जातको बोयर क्रस गरी मासु र बीउ उत्पादन गर्दै आउनुभएको छ । मासुका लागि खसीबोकाको माग स्थानीय बजारमा उच्च रहे तापनि बीउका लागि पाठी बिक्रीमा भने त्यति धेरै सहजता छैन ।

“मासुका लागि खसीबोकासँगै बीउका लागि पाठी उत्पादनमा पनि जोड दिएको छु”, उहाँले भन्नुभयो, “बीउको गुणस्तरीयतामा जोड दिँदै अष्ट्रेलियाबाट उन्नत जातको बोयरको बोका ल्याई स्थानीय खरी जातसँग क्रस गरी पाठीहरु उत्पादन गर्दै आएको छु ।” वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया, कतारलगायतका देशमा लामो समय बसेर गाउँ फर्किएसँगै बाख्रापालनमा उहाँ लाग्नुभएको हो । उहाँको फार्ममा अहिले साना तथा ठूला गरी ४० वटा बाख्रा रहेका छन् । मासुका लागि खसीबोका तथा बीउका लागि पाठी बिक्री गरेर वार्षिकरुपमा झण्डै रु सात लाखको कारोबार हुने गरेको छ ।

भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले २०७० सालदेखि सानन जातको बाख्रापालन गर्दै आउनुभएको छ । स्थानीय खरी जात र सानन जातबीच क्रस गराएर उहाँले विशेषगरी दूध उत्पादन थाल्नुभएको हो । उत्पादित दूधबाट चीज र साबुन बनाउने लक्ष्यसहित उहाँ अगाडि बढ्नुभएको छ । “हामीले परम्परागतरुपमा स्थानीय खरी जातका बाख्रा पाल्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “सानन जातको उन्नत बोका ल्याई खरीसँग क्रस गराएर अहिले दूधबाट चिज उत्पादन थालिएको छ, प्रयोगात्मक परीक्षण भइरहेको छ, अब केही दिनमै व्यावसायिक उत्पादन सुरु गर्छाैं ।”

उहाँहरुजस्तै विदेशबाट फर्केर व्यावसायिक बाख्रापालन गरी यहाँका अधिकांश किसानले राम्रो आम्दानी लिन सफल भएका छन् । रोजगारीका लागि विदेश जानुपर्छ भन्ने नभएकाले बाख्रापालनबाट पनि मनग्य आम्दानी गर्न सकिने दाबी व्यवसायी किसानको छ । लहलहैमा लागेर केही व्यवसायी हराउने र छाडेर फेरि विदेश जाने छिटफुट देखा परे पनि पहिला विस्तृत जानकारी लिएर अगाडि बढ्दा त्यतिधेरै समस्या नहुने ठहर उनीहरुको छ । राज्यले दिने सेवासुविधा वास्तविक किसानसमक्ष पु¥याउन सकेकाखण्डमा मात्रै पनि किसानलाई थप ऊर्जा मिल्ने र व्यवसाय प्रवद्र्धनमा थप टेवा पुग्ने देखिन्छ ।

व्यावसायिकरुपमा मासु तथा बीउका लागि बाख्रापालन गर्ने पछिल्लो समय स्याङ्जामा पनि बढ्दै गएका छन् । बाख्रापालनलाई नै मुख्य आम्दानीको स्रोतका रुपमा अगाडि बढाउने व्यक्तिगत वा सामूहिक फार्म तथा संस्था दर्ता गरी सञ्चालनमा छन् । वार्षिकरुपमा लाखौँको कारोबार गर्ने स्याङ्जामा प्रशस्तै छन् । उनीहरुको कर्म देख्दा लाग्छ रोजगारीका लागि अब विदेश होइन स्वदेशमै प्रशस्तै सम्भावना छन् । बाख्रापालनबाट आर्थिक उपार्जनसँगै स्थानीयलाई रोजगारीसमेत दिने गरेका छन् ।

जिल्लामा विशेषगरी विदेश गएर फर्केका युवा बाख्रापालन व्यवसायतर्फ बढी आकर्षित भएको देखिएको छ । स्याङ्जामा बाख्रापालनकै क्षेत्रमा काम गर्ने गरी व्यावसायिक फार्म तथा उद्योग झण्डै एक हजार ३०० रहेका ‘युवाका लागि बाख्रा गाउँ अभियान’ का अभियन्ता सुशील अर्याल बताउनुहुन्छ । जिल्लाभित्र उत्पादन भएको खसी बोकाले यहाँको माग धान्न सकेको छैन । स्याङ्जा जिल्लाभित्र मात्रै मासिक रु पाँच करोडको मासुको कारोबार हुने दाबी उहाँको छ । खसीबोकाको मासु २० प्रतिशत मात्रै अर्थात एक करोड मूल्य बराबरको कारोबार हुने गरेको छ । बाँकी मासु कुखुरा, बङ्गुर, राँगा लगायतको कारोबार हुने गरेको छ ।

“खसीबोकाको मासुको मागको ६० प्रतिशत स्थानीयस्तरमा उत्पादन भएको मासुले पुग्ने गरेको छ”, उहाँले भन्नुभयो, “नपुग मासु तराईका जिल्लाबाट आउने गरेको छ भने कतिपय यहीँको उत्पादन पनि पोखरा, काठमाडौँ लगायतका बजारमा जाने गरेको छ ।” स्याङ्जामा भन्दा पोखरा काठमाडौँमा खसी बोकाको मासुको मूल्य धेरै भएकाले पनि यहाँ उत्पादन भएका खसीबोका ती सहरमा बिक्री हुने गरेको छ । तराईबाट यहाँ खसी बोका ल्याउँदा यहाँकोभन्दा सस्तो पर्ने भएकाले पनि यहाँबाट ठूला सहरमा निर्यात र तराईबाट यहाँ आयात हुनेक्रम चलिरहेको अर्याल बताउनुहुन्छ ।

अभियन्ता अर्यालका अनुसार स्याङ्जा जिल्लामा स्थानीय खरी, उन्नत बोयर, सानन गरी करिब दुई लाख १३ हजार बाख्रा रहेका छन् । मासुका लागि खसीबोका बिक्रीका लागि समस्या नभए तापनि बीउका लागि उत्पादन भएका पाठीको बिक्रीमा भने बजारको केही समस्या हुने गरेको छ । बाख्रापालनका लागि पछिल्लो समयमा घाँस, दानाको पूर्वतयारी गरेर मात्रै व्यवसाय सञ्चालन गर्नेक्रम बढ्दै गएकाले पनि सहजता हुँदै गएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिकाको पशु सेवा शाखामा अधिकृत तहका कर्मचारीसमेत रहनुभएका अभियन्ता अर्यालले विदेशबाट फर्केका युवालाई व्यवसायप्रति उत्प्रेरित गर्नु र व्यवसायमा आबद्ध युवालाई निरन्तर सल्लाह तथा सुझाव दिनेगरी अर्यालले अभियान सञ्चालन गर्नुभएको हो । जिल्लाभित्रका एकसय २९ जना युवा ‘युवाका लागि बाख्रा गाउँ अभियान’ संस्थामा आबद्ध भएर काम गरेका छन् । अभियानमार्फत किसानको आवश्यकताअनुसार फार्ममै गएर वा अभियानमार्फत कार्यक्रम सञ्चालन गरी निःशुल्क आवश्यक तालिम दिने गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार यस अभियानमार्फत ४१ जिल्लाका छ हजार सात सयभन्दा बढी किसानले व्यावसायिक तालिम लिएका छन् । कालीगण्डकी गाउँपालिका–५ बेलटारीका युवा व्यवसायी त्रिभुवन न्यौपानले बाख्रापालनबाटै वार्षिक रु ४० देखि ५० लाखको कारोबार गर्नुहुन्छ । ‘भूमिका कृषि तथा पशुपालन फार्म’ दर्ता गरी झण्डै १० वषअघिबाट व्यवसाय थाल्नुभएका न्यौपानेले बाख्राको कारोबारबाट नै रु एक करोडको सम्पत्ति जोड्नुभएको छ । अहिले पनि उहाँसँग रु ७० देखि ८० लाखसम्मको बाख्रामात्रै छन् । स्थानीय खरी जातका बाख्रा र शुद्ध उन्नत जातको बोयर बाख्राको बोका क्रस गराई उत्पादन भएका पाठीहरु उहाँले बीउकालागि बिक्री गर्दै आउनुभएको छ ।

न्यौपानेको फार्ममा अहिले तीन÷चार जनाले रोजगारीसमेत पाएका छन् । कम्प्युटर सफ्टवयर इञ्जिनीयर अध्ययन पूरा गर्नुभएका न्यौपानेले गाउँमा फर्केर बाँझो रहेको जमिनलाई सही सदुपयोग गर्ने उद्देश्य लिएर योजनाबद्ध तरिकाले व्यवसाय सञ्चालन गर्नुभयो । गाउँका मान्छे सहर पस्दा खेतीयोग्य जमिन बाँझो हुने र गाउँ रित्तिँदै जान थालेपछि उहाँले गाउँ फर्केर व्यवसाय थाल्नु भएको थियो ।

युवालाई स्वदेशमै रोक्नका लागि राज्यले पनि अभिभावकको भूमिका खेल्नुपर्ने तर्क उहाँको छ । “आफूसँग भएको रकम सबै लगानी गरेर व्यवसाय थाल्यो राम्रो भए त ठिकै भयो तर अप्ठ्यारो आउँदा राज्यले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो । बैंकले ऋण नपत्याउने, दानाको मूल्य अत्यधिक वृद्धि हुनु, प्राविधिक ज्ञान नहुनु, औषधि उपचारको असहजताले पनि किसान अप्ठ्यारोमा पर्ने गरेको उहाँको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments