विस्थापित हुँदैछन् पशुपालक कृषक

युवा गाईपालनमा

मध्यबिन्दु:नवलपरासी(बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका– ८ को सम्राट कृषि तथा पशु फार्ममा दुई वर्षअघि ५० वटासम्म गाई थिए । दैनिक चार सय लिटर दूध उत्पादन हुन्थ्यो । मासिक आम्दानी दुई लाख । तर, हिजोआज फार्ममा चार गाई छन् । कोरोना भाइरसपछि देखिएको आर्थिक मन्दी, दाना पराल महँगो हुनुजस्ता कारणले गाईको सङ्ख्या घटाउनु परेको फार्मका सञ्चालक हेमन्त पौडेल बताउनुहुन्छ ।

“व्यवसाय नै यही हो भनेर सुरु गरिएको हो, यसलाई अँगाल्नुको साटो पन्छाउँदै जाँदा त दुःख लागेको छ”, पौडेलले भन्नुभयो “२५ देखि २६ हजारसम्म आउने पराल कोडिभका बेला ८० हजार सम्म हाल्नुप¥यो, आठदेखि दश दिन पनि हँुदैन, चार लाखको दूध बेचेर तीन लाखको पराल नै खुवाएर कसरी पाल्नु ।”

गैँडाकोट–६ कै झुमा क्षेत्रीका गोठमा १२ गाई थिए । लागतअनुसारको उत्पादन प्रतिफल नआएपछि उहाँले सात गाई बेचिदिनुभयो । अब पाँच वटा गाई बाँकी छ । दाना, पराल महँगिँदै गएको तर दूधको मूल्य पर्याप्तरूपमा नबढेको भन्दै किसानले गाईपालनको विकल्प खोज्न थालेका छन् ।

“पहिलापहिला गाई किनबेचमा उचित मूल्य थियो, अहिले मूल्य छैन्”, क्षेत्रीले भन्नुभयो, “पाँच सय रुपैयाँ मुठा पराल ल्याउने हो, चार दिन हुन्न, दाना चोक्करलाई एकै पटक पाँच हजार नभई हुन्न ।”

हाल किसानले प्रतिलिटर ५० देखि ६० रूपैयाँमा दूध बिक्री गर्दै आइरहेका छन् । उपभोक्तले एक लिटर दूधको मूल्य ९० रुपैयाँ तिर्नुपर्छ । किसानले गाईलाइ खुवाउने चोक्करसहितको पाँच हजार खर्च गर्नुपर्छ । एउटा दुधालु गाई पाल्न किसानले वार्षिक रु एक लाख ४२ हजार खर्च गर्नुपर्दा उत्पादन भने लगभग रु एक लाख हुन्छ । दाना र चोक्करको मूल्यमा सहुलियत पाए सजिलो हुने लामिछाने पशु फार्मका सञ्चालक रीता लामिछानेले बताउनुभयो । “दूधको उचित मूल्य छैन, बिहान ४ बजे उठेर दूध दुहुनपर्छ, लिटरको ५५÷५६ मूल्य पर्छ”, लामछिानेले भन्नुभयो ।

सरकारले कृषि क्षेत्रको प्रवद्र्धनका लागि विभिन्न नीति बनाएको छ । तर सरकारले गर्ने लगानी वास्तविक किसानसम्म नआउने गरेको उनीहरु बताउँछन् । अर्का पशुपालक किसान विष्णु न्युरे भन्नुहुन्छ ,“खर्च पु¥याउन सकिएन, बिरामी धेरै हुने, औषधि उपचार पनि महँगो, झोलाका किसान धेरै भए, वास्तविक किसान राज्यले पहिचान गर्न नसक्दा गरिब किसान सधैँ पीडामा छन् । ”

देशभरि जस्तै गैँडाकोटमा गाई फार्मको सङ्ख्या घटिरेहको छ । गैँडाकोट नगरपालिकामा पाँच सय १६ गाईभैँसी फार्म सञ्चालनमा छन् । अधिकांश फार्मले विस्तारै गाईको सङ्ख्या कम गराउँदै लगेका छन् । गाईपालक किसानलाई प्रोत्साहन गर्न गैँडाकोट नगरपालिकाले घाँस काट्ने मेसिन खरिद गरी वितरण गरेको नगरपालिकाका पशु शाखा प्रमुख डाक्टर प्रमोदकुमार पौडेल बताउनुहुन्छ ।

“गत र यो वर्ष हामीले यान्त्रीकरण कार्यक्रमअन्तर्गत घरमै दाना बनाउनसक्ने मेसिन वितरण गरी लागत कम गराउन लागिपरेका छौँ”, शाखा प्रमुख पौडेलले भन्नुभयो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म रहेका छन् । एक हजार दुई सयभन्दा बढी गाईपालन फार्म छ । दाना र पराल महँगो हुँदै जानु र उत्पादित दूधले उचित बजार नपाउने कारण गाईपालक किसान कम हुँदै गएका छन् । गाईलाई आवश्यक पर्ने दाना, भुसा र परालको सहज आपूर्तिको व्यवस्था सरकारले गरिदिए देश दूधमा आत्मनिर्भर मात्रै होइन, दुग्धजन्य पदार्थको निर्यात पनि गर्न सकिन्छ । यसका लागि नीतिगत व्यवस्था नै गरिदिनुपर्ने पशुपालक किसान बताउँछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments