आलु खेतीबाट मनग्गे आम्दानी

आलु खेती

दिपायल:आलु खेतीबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा आलुखेती हुन थालेपछि डोटी जिल्ला आलु खेतीतर्फ आत्मनिर्भर बन्दै गएको छ ।

परम्परागत खेतीको तुलनामा आधुनिक खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा आलुखेती गर्न थालेका हुन् । जिल्लाको बडिकेदार गाउँपालिका–५ थानकोटका किसान दिल्ली मल्लले आलु खेतीबाट निकै आम्दानी गर्नुभएको छ । उहाँ हिउँदे र बर्खे गरी दुवै याममा रु दुई लाख बराबरको आम्दानी गर्दै आएको बताउनुहुन्छ । ‘धान,गहुँ र तोरी खेतीले खासै आम्दानी हुँदैनथ्यो,’ मल्ल भन्नुहुन्छ, “आलु खेती गर्न थालेपछि यहाँका किसानले निकै आम्दानी गरेका छन् ।”

जिल्लाको जोरायल गाउँपालिका–६ दहका किसन गोपाल साउदले ४० रोपनी जमिनमा लगाउनुभएको आलु खनिसक्नुभएको छ । काडिन्ल नामको रातो आलु ६० कुइन्टल फलेको र उक्त आलु प्रतिकिलो ४० रुपैयाँमा बिक्री भइरहेको उहाँको भनाइ छ । एकै याममा कारिव रु दुई लाख चालिस हजार बराबर आम्दानी भएको साउद उल्लेख गर्नुहुन्छ ।
कृषि ज्ञान केन्द्रबाट चक्लाबन्दी आलु खेतीका लागी ५० प्रतिशत अनुदान तथा प्राविधिक सहयोगमा आलुको बीउ ल्याएर लागइएकामा पानी नपरेकाले खासै उत्पादन नभएको उहाँ गुनासो गर्नुहुन्छ ।

आलु उत्पादनलाई उपभोक्तामुखी बनाउँदै किसानले सहज बनाउँदै लगेको बडीकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेन्द्र शाहा बताउनुहुन्छ । हिउँदे र बर्खे बालीका रुपमा आलुखेती गरी उक्त गाउँपालिकाका प्रत्येक किसानले रु पाच लाखभन्दा बढी आम्दानी गरेका छन् ।

जिल्लामा पछिल्लो समय आलु खेती गर्ने किसान निकै बढेकाले किसानलाई समयमै बीउ बीजन , मल , कृषि औजारलगायत समस्या भएकाले स्थानीय तह , संघ र प्रदेश सरकारसँग समन्वय गरी उपलब्ध गराउन पहल गरीने प्रमुख पनेरु बताउनुहुन्छ
गत आर्थिक वर्ष २०७७÷७८ मा दुई हजार नौ सय पाँच हेक्टर जमिनमा लगाएको आलु ३३ हजार छ सय ६६ मेट्रिटन उत्पादन भएको थियो भने यस बर्ष तीन हजार चार सय ३३ हेक्टर जमिनमा लगाएको आलु ४० हजार पाँचसय ५८ मेट्रिकटन उत्पादन भएको उक्त केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाको सायल गाउँपालिका, पूर्वचौकी गाउँपालिका , दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकालाई आलु पकेटको रुपमा छनोटगरी आलु खेती गरिँदै आएको उक्त केन्द्रले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?