रोगका कारण अग्निखेतका बङ्गुर फार्म रित्तिए

बर्दियामा बङ्गुर मिसन कार्यक्रम

म्याग्दी:महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ का कारण बेनी नगरपालिका–७ अग्निखेतका बङ्गुर फार्म रित्तिएका छन् । पुस दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्निखेतमा रहेका सबै फार्मका बङ्गुर मरेका हुन् । अग्निखेतको प्रकृति एन्ड प्रशंसा बङ्गुर फार्मका सञ्चालक कृष्ण विकले १२ फार्म अफ्रिकन स्वाइन फिवरको महामारीले रित्तिएको बताउनुभयो ।

“दस वर्षदेखि बङ्गुर पाल्दै आएको थिए, यस्तो महामारी कहिल्यै आएको थिएन्”, उहाँले भन्नुभयो, “यसपालि मेरो फार्ममा मात्र रु ३० लाख मूल्यका ६० बङ्गुर मरे, एउटा पनि बाँकी रहेन ।” सबै फार्ममा रु दुई करोड मूल्य बराबरको क्षति भएको विकले बताउनुभयो ।

जिल्ला सदरमुकाम बेनी बजारको नजिकै रहेको अग्निखेतमा एकै ठाउँमा धेरै बङ्गुर फार्म छन् । यहाँका कृष्ण विक, टीका रोका, पूर्वराज घर्ती, नरे रोका, देवेन्द्र कामी लगायतका कृषकले अग्निखेतमा बङ्गुर पाल्नुभएको थियो । कृषक टीका रोकाले बङ्गुरपालन व्यवसायबाट विस्थापित हुने अवस्था आएको बताउनुभयो ।

“तत्काल नयाँ बङ्गुर पाल्न सक्ने वातावरण र हैसियत छैन, पेसाबाट नै विस्थापित हुनुपर्ने भयो”, उहाँले भन्नुभयो, “घरव्यवहार चलाउन र छोराछोरी के गरेर पढाउने भन्ने चिन्ताले पिरोलिएका छौँ ।” पोखराबाट बङ्गुर ल्याएपछि अग्नीखेतमा अफ्रिकन स्वाइन फिवर भित्रिएको हो ।

बेनी बजारका घर तथा होटलमा बढी भएर फाल्ने गरिएको खाना बङ्गुरलाई दानाका रुपमा खुवाउने गरिएको थियो । बङ्गुर फार्म लैजान छाडेपछि घर तथा होटलमा बढी भएको दाल, भात, तरकारीको व्यवस्थापन गर्न समस्या भएको बजारवासीले बताएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । यही पुस ११ गते यहाँका बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिवर भित्रिएको पुष्टि भएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बेनीको अग्निखेत र अन्नपूर्ण गाउँपालिकाको नौलीबगरमा अफ्रिकन स्वाइन फिवरबाट दुई सय ७५ बङ्गुर मरेका बताउनुभयो ।

“रोग नियन्त्रणमा नआएसम्म बङ्गुर ओसार पसार गर्न रोकिएको छ”, उहाँले भन्नुभयो, “कृषकलाई सावधानी अपनाउन आग्रहका साथै नियन्त्रणका लागि पशु चिकित्सक र प्राविधिक परिचालन गरिएको छ ।” जैविक सुरक्षा र सतर्कता अपनाइएकाले जिल्लाका अन्य फार्ममा महामारी फैलिन नपाएको प्रमुख आचार्यले बताउनुभयो । रोगबाट मरेका बङ्गुरलाई व्यवस्थित तरिकाले जमिनमा गाडिएको छ ।

बिरामी बङ्गुरमा ज्वरो बढी आउने, बान्ता गर्ने, झोक्र्याउने र शरीरमा नीलो डाम देखिने लक्षण देखिएको छ । पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा भारत, चीन र भूटानमा देखिएको यो रोग नेपालमा गत वर्षको चैतमा काठमाडौँमा देखिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?