पशुपछी फार्म सञ्चालन गरी आम्दानी लिँदै वडाध्यक्ष

कञ्चनपुर:शुक्लाफाटा नगरपालिका–१० का लालबहादुर ऐरले राजनीतिसँगै व्यावसायिक कार्यलाई सँगसँगै जोड्नुभएको छ । वडा नं १० मा दोस्रो पटक वडाध्यक्ष पदमा विजयी भएका ऐर घरमै पशुपछी फार्म सञ्चालन गरी आम्दानी गर्दै आउनुभएको छ ।

फार्म सञ्चालनका लागि उहाँले रु ३० लाख लगानी गर्नुभएको छ । पाँच वर्षअघि देखि उहाँले बङ्गुर, बाख्रा र माछापालन गर्दै आउनुभएको छ । उहाँले गत वर्ष रु छ लाखका बङ्गुर बिक्री गरेको बताउनुभयो । उहाँका अनुसार माछा रु दुई लाख ५० हजार र बाख्रा रु एक लाख बढीको बिक्री भएको छ ।

अझै उहाँको फार्ममा माउ भाले गरी ३५ बङ्गुर र १६ पाठापाठी बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् । फार्ममा उन्नत जातका २० बाख्रा पालिएका छन् । पोखरीमा झन्डै रु तीन लाख बढीका माछा बिक्रीका लागि तयारी अवस्थामा छन् ।

“राजनीति निःस्वाथ्र्य सेवा भावनाले गरिने पेसा भएकाले जहिले पनि खर्चको अभाव रहन्छ”, उहाँले भन्नुभयो, “राजनीतिसँगसँगै व्यावसायिक कार्य गरे खर्चको व्यवस्था मिलाउन सकिने भएकाले पशुपछी फार्म सञ्चालन गरेका छौँ ।”

फार्मबाट विगत वर्षहरुमा चाहेअनुसारकै आम्दानी भए पनि यस वर्ष एक पनि बङ्गुर बिक्री नहुँदा उहाँ चिन्तित हुनुहुन्छ । “फार्ममा पालिएका बङ्गुरले दैनिक रु दुई हजार बढीको दाना (चारो) खाने गरेका छन्”, उहाँले भन्नुभयो, “बिक्री एक पनि भएको छैन, ग्राहकको खोजी गर्दै हिँडेका छौँ, पाएका छैनौँ ।”

लागत खर्च बढ्दै गएकाले बजारमा लागेको खर्च उठाउन पनि मुस्किल भएको छ । फार्ममा पालिएका बङ्गुर एउटैको मूल्य रु १५ हजारदेखि रु ३० हजारसम्म पर्ने गरेको छ । तौलका आधारमा बङ्गुर बिक्री हुने गरेका छन् । बाख्रा, खसी रु २० हजार माथिका रहेका छन् । माछा भने प्रतिकिलो रु तीन सय ५० थोकमा बिक्री भइरहेको छ ।

बाख्रा र माछा भने सहज रुपमा बिक्री भइरहेको उहाँको भनाइ छ । फार्ममा पालिएका पशुपछीको रेखदेखका लागि एकजना कामदारलाई तलब दिएर उहाँले राख्नुभएको छ । फुर्सद भएका बेला उहाँ आफैँले बङ्गुर, बाख्राको खोर सफा गर्ने, दानापानी, घाँस खुवाउने कार्य गर्नुहुन्छ । माछालाई चारो हाल्नेदेखि बजारमा लगेर बेच्ने कार्य उहाँ आफैँले गर्नुहुन्छ । उहाँको फार्ममा चाइनिज हाँससमेत पालिएका छन् । हाल हाँसको सङ्ख्या भने थोरै रहेको छ । भविष्यमा स्थानीय जातका कुखुरा पाल्ने सोच उहाँको रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?