पशु बीमा कार्यक्रम वर्ष दिनमै अलपत्र

किसानलाई भैँसी

खोटाङ:ऐँसेलुखर्क गाउँपालिकामा सञ्चालन गरिएको पशु बीमा कार्यक्रम एक आर्थिक वर्षपछि अलपत्र परेको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्ष्य गर्दै लुम्बिनी इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा पशु बीमा कार्यक्रम सुरु गरेको थियो । सुरुका वर्ष १७ वटा बाख्रा र छ वटा बङ्गुुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६÷७७ देखि पशुको बीमा नवीकरण नगरेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख प्रमोदकुमार राजभण्डारीले बताउनुभयो ।

“वर्ष दिनभित्र किसानले दुईवटा बाख्राको बीमा बापतको रकम पाएका थिए”, उहाँले भन्नुभयो, “कतिपय किसानले पशु बीमाको जिकिर गर्न आउँदा नवीकरण नगरेको पाइएपछि रित्तो फर्काइयो।” नेपाल सरकारको केन्द्रीय कार्यक्रमअनुसार गाउँपालिकाको समन्वयमा पशु बीमा सुरु गरेको लुम्बिनी इन्सुरेन्स कम्पनीले अभिकर्ताको अभावमा बीमा नवीकरण गर्न नसकेको जनाएको छ ।

बीमा कम्पनीको अभिकर्ता नहुँदा गाउँपालिकाकै कर्मचारी खटाएर बीमा गराइएको शाखा प्रमुख राजभण्डारीले बताउनुभयो । पशु बीमालाई पुनः निरन्तरता दिने तयारी भइरहेको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । “ग्रामीण क्षेत्रका किसानको मुख्य सम्पत्तिको रुपमा रहेको गाईभैँसी, बङ्गुुर मर्दा हुने आर्थिक क्षतिबाट जोगाउन गाउँपालिकामा पशु बीमा कार्यक्रम लागू गरिएको थियो”, उहाँले भन्नुभयो, “बीमा गरेको एक वर्षभित्र पशु मरे वा क्षति पुगेमा किसानलाई बीमाङ्क रकमको ९० प्रतिशत रकम प्रदान गर्नेगरी पशु बीमा सुरु गरिएको हो । आगामी दिन यसलाई निरन्तरता दिने तयारी गरेका छौँ ।”

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि उक्त बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पशु सेवा कार्यालयले पनि सो बीमा सञ्चालन गरिरहेको छ । जिल्लामा सञ्चालित बीमा कार्यक्रम प्रभावकारी नभएको किसानले बताउने गरेका छन् । बीमा कम्पनीले नवीकरणमा तदारुकता नदेखाउँदा समस्या हुने गरेको भेडापालक युवा किसान लक्ष्मण साम्पाङ ‘समिप’ले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?