धुञ्चेमा पशु सेवा सम्पर्क केन्द्र स्थापना

पशुमा पूर्ण खोप

त्रिशूली:भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले रसुवाको धुञ्चेमा सम्पर्क केन्द्र स्थापना गरेर सेवा दिन थालेको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको केन्द्रले जनशक्ति अभावका कारण पछिल्लो एक वर्षदेखि सेवा दिन सकिरहेको थिएन ।

कर्मचारीको व्यवस्था गरेर केन्द्र सञ्चालनमा ल्याएको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिनुभयो । दुई प्राविधिक थप गरेर ‘सम्पर्क केन्द्र’ सञ्चालनमा ल्याइएको हो । “प्रादेशिक कार्यालयअन्तर्गत रहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय स्थापनाको समयदेखि रसुवामा सम्पर्क केन्द्र सञ्चालन भए पनि गत वर्षदेखि पूर्णरूपमा बन्द भएको सेवा सञ्चालनमा आएको छ”, कार्यालय प्रमुख पाण्डेले भन्नुभयो ।

सेवा केन्द्रमार्फत पशुपक्षीपालक किसानलाई पशुपक्षी उपचार सेवा तथा परामर्श, प्राविधिक जानकारी, पशु सेवा विज्ञ केन्द्रले रसुवामा सञ्चालन गर्ने योजना तथा कार्यक्रमका लागि सम्झौतादेखि भुक्तानी प्रक्रियाका लागि निवेदन दिन नुवाकोटको विदुर आउनुपर्ने बाध्यता हटेको छ ।

जोखिम भवनबाट सेवा

सम्पर्क केन्द्रका लागि सुविधासम्पन्न आफ्नै भवन भए पनि उक्त भवन खाली नभएकाले साविक पशु सेवा कार्यालयको पुरानो भवनबाट सेवा सञ्चालनमा ल्याइएको छ । कर्मचारी अभावका कारण सम्पर्क केन्द्रका सुविधासम्पन भवनमा केही समयका लागि भनेर नापी कार्यालय रसुवाले लिए पनि खाली नभएपछि केन्द्रको सेवा जोखिमको भवनबाट सुरु भएको हो ।

पशु सेवा विज्ञ केन्द्रको भवन छाड्न नापी कार्यालयले अटेर गरेका कारण जोखिमको भवनबाट सेवा सञ्चालनमा ल्याउन बाध्य भएको कार्यालय प्रमुख पाण्डेले गुनासो गर्नुभयो । “कार्यालयको आफ्नै नाममा रहेको भवनमा पशुपक्षीको उपचार गर्न विशेषकक्ष, प्रयोगशालालगायतका संरचनाले सेवा प्रवाहमा सहज हुने थियो”, उहाँले भन्नुभयो, “आकस्मिक प्रयोजनका रूपमा नापीले लिएको भवन खाली गर्न गरेको अनुरोध बिलम्व गरेकाले सेवा केन्द्र सञ्चालन गराउन दुई महिनादेखि प्रयास जारी छ ।”

नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको पशु सेवा विज्ञ केन्द्रले पशुपक्षी र माछापालक किसानका लागि आवश्यक प्राविधिक सेवा, निःशुल्क उपचार सेवा र औषधि उपलब्ध, अनुदान तथा सहयोग सङ्घीय र प्रदेश सरकारको प्रतिनिधित्वको रूपमा उपलब्ध गराउँदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?