अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा रुइत

 काठमाडौँ:वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताउनुभएको छ ।

बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्र्ड पाएको बताउनुभयो । उहाँले अवार्र्ड मुलुकका लागि सानो कुरा नभएकाले राज्यले पनि खुसी मनाउनुपर्ने उल्लेख गर्नुभयो ।

“आँखाको क्षेत्रमा ३५ वर्षदेखि गर्दैआएको कर्म हेरेर संसारले पनि मेरो सम्मान गर्दो रहेछ भन्ने थाहा भयो”, डा रुइतले भन्नुभयो, “अवार्डबाट संसारको मानचित्रमा नेपालीले राम्रो काम गर्दा रहेछन भन्ने देखाएको छ । नेपालीको आत्मसम्मान र प्रतिष्ठा विश्वभर बढाएको छ । त्यसलाई बचाउन यसले ठूलो सहयोग गरेको छ ।”

सुरुमा अवार्ड पाउने खबर सुन्दा आफूलाई विश्वास नलागेको डा रुइतको भनाइ थियो । “यति ठूलो अवार्ड पाउँदा एकछिन त म आफँैले विश्वास गर्न सकेन । पछि राम्रो लाग्यो । अनि अवार्ड पाएको कुरा कसलाई भनुँ, कसलाई भनुँ भयो”, उहाँले भन्नुभयो ।

अवार्डले संसारमा अन्धोपनका क्षेत्रमा नेपाली गरेको योगदानलाई स्थापित गरेको डा रुइतको भनाइ छ । उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयन दर्ता गराएका थिए । छ व्यक्ति तथा संस्था छनोट चरणको अन्तिम सूचीमा परेका थिए ।

वरिष्ठ आँखा चिकित्सक डा रुइतले नेपालमा अझ पनि पहुँच नपुगेको ठाउँमा आँखाको क्षेत्रमा काम गर्न प्रयास गरिरहेको बताउनुभयो । उहाँले सबै मिलेर नेपालमा पहुँच नभएको ठाउँमा आँखाको सेवालाई विस्तार र सर्वसुलभ बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । “आँखाको लेन्स बनाएर अन्तर्राष्ट्रियरुपमा निर्यात गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्र्ड प्रदान गर्दै आएको छ । अवार्र्डको राशि १० लाख डलर रहेको छ । डा रुइतले मोतिबिन्दु उपचार गर्ने सरल विधि (रुइतेक्टोमी र इन्ट्रोकुलर लेन्स) को विकास गर्नुभएको छ । उहाँलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै उक्त अवार्र्ड प्रदान गर्ने निर्णय गरिएको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?