डोको बुनेर १५ वर्षदेखि घर व्यवहार चलाउँदै शेरबहादुर

डोको बुनेरै बित्यो जवानी

दिपायल:दिपायल–डोटीको बडीकेदार गाउँपालिका–५ थानकोट गाउँका ४० वर्षीय शेरबहादुर भुल डोको बुनेरै घरखर्च चलाउँदै आउनुभएको छ । उहाँले निगालोको डोको, छाप्रीलगायत सामग्री बनाउने गर्नुहुन्छ ।

निगालोबाट विभिन्न सामान बनाएर बिक्री गरेर उहाँले १५ वर्षदेखि घर व्यवहार चलाउँदै आउनुभएको छ । दश जनाको परिवार उहाँकै कमाइबाट पालिने गरेको छ । “आम्दानीको कुनै स्रोत नभएर खाली बस्नुभन्दा सीप सिकेर काम गरेको छु ।

एकमहिने साना तथा घरेलु कार्यालय राजपुरले दिएको बास, निगालोसम्बन्धी तालिम लिएर अहिले यही डोको बुन्ने पेशाले घरपरिवार पालेको छु”, उहाँले भन्नुभयो । डोको र छाप्री बुनेर गाउँघरमा घुम्ती व्यापार गरेर वार्षिक ८० हजार कमाउने गरेको उहाँले बताउनुभयो ।

कहिले त निगालोका सामग्री साटेर अन्न, तेल खुर्सानी ल्याउने गरेको उहाँले बताउनुभयो । उहाँले आफूहरू जस्ता सीप भएकालाई स्थानीय सरकारले उद्योग खोलेर रोजगारीको र्सिजना गरिदिए धेरैको रोजगारी हुने सुझाव दिनुभयो ।

शेरबहादुर भुल मात्र नभएर यो गाउँमा बसोबास गर्ने करिब एक सय ५० घरधुरी दलित समुदायका व्यक्तिको पेसा नै डोको, डालो, छाप्री बनाएर बिक्री गर्नु हो । खेतीपातीबाट तीन महिनासम्म पनि गुजारा चलाउन नसकिने भएपछि उनीहरूले यसलाई वैकल्पिक पेसा बनाएका छन् ।

“छोराछोरीेको पढाइ खर्च र आफ्नो जीविकोपार्जन यसैबाट चलेको छ”, स्थानीय जवान भुल भन्नुहुन्छ । “दलित समुदायका परिवारसँग खेतीयोग्य जमिन नहुँदा तीन महिना खान नपुग्ने, भारत तथा तेस्रो मुलुकमा गएर काम पनि गर्न नसकिने भएकाले हामीले निगालोका सामग्री बनाएर बिक्री गर्नुपरेको छ”, सँगै उत्पादन भएका बस्तुलाई बिक्री गर्न बजारीकारणका लागि स्थानीय सरकारले कुनै पहल नगरेको उहाँको गुनासो छ ।

स्थानीय सरकारले सीपमूलक तालिमको आयोजना गरी बढीभन्दा बढी सहभागी बनाइ आत्मार्निभर बन्न सहयोग गरिरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताउनुभयो । जनतालाई कुनै न कुनै क्षेत्रबाट सहयोग गर्न सबैसँग सहकार्य गरी स्थानीयस्थरमा उत्पादन भएका बस्तुलाई बिकाउन बजारीकरणमा पहल गरिने पनि उहाँको भनाइ थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?