एक क्विन्टल कफी उत्पादन गर्दा रु दुई हजार अनुदान दिने

झापा:इलामको पश्चिमी गाउँपालिका माङ्सेबुङले कृषि उत्पादन अभिवृद्धिका लागि अनुदान दिन थालेपछि स्थानीय कृषक हर्षित भएका छन् ।

माङ्सेबुङ वडा नं १ का कृषक देवीप्रसाद अधिकारीले एक क्विन्टल कफी उत्पादन गर्दा पालिकाले रु दुई हजार अनुदान दिने गरेको बताउनुभयो । पछिल्लो समय कफी खेतीको पकेट क्षेत्रका रूपमा विकास भइरहेको माङ्सेबुङमा अनुदान पाउन थालेपछि परम्परागत धान, मकै, कोदो, फापर बाली लगाइरहेका किसान अब कफी खेतीमा आकर्षित भएका छन् ।

उहाँले माङ्सेबुङ–१ मा घरैपिच्छे कफी खेती गरिएको जनाउँदै प्रतिक्विन्टल रु १० हजारका दरले पाकेका कफीका दाना गाउँमै बिक्री हुने गरेको र त्यसमा पालिकाले रु दुई हजार अनुदान थपिदिने गरेको बताउनुभयो ।

माङ्सेबुङ–१ का वडाध्यक्ष भुपाल योङहाङले कृषि उत्पादन वृद्धि गर्न हौसला होस् भनेर गाउँपालिकाले दूध, दाल, बाँस, स्कुस, केरालगायतका बालीमा पनि कृषकले सोझै पाउने गरी अनुदानको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानले कालो र पहेँलो दालमा प्रतिकेजी रु एक सय, दूध प्रतिलिटर रु दुई, माली बाँस प्रतिझ्याङ रु एक सय, स्कुस प्रतिझ्याङ रु एक हजार र केरा प्रतिझ्याङ रु एक सय अनुदान पाउने गरेका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा कृषि उत्पादनमा अनुदान दिनका लागि रु १६ लाख रकम छुट्याएको उहाँले बताउनुभयो ।

“इलामको दुर्गम क्षेत्र भएकाले यहाँ बाटोघाटो र अरु पूर्वाधारको त्यति राम्रो विकास भइसकेको छैन”, वडाध्यक्ष योङहाङ भन्नुभयो, “किसानले फलाएको बालीले उचित बजार नपाउँदा झन् समस्या हुने भएकाले पालिकाले अनुदान दिएर भए पनि किसानलाई प्रोत्साहित गर्ने नीति लिएको हो ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?