उपल्लाचौरमा आइपिएम किसान पाठशाला

म्याग्दी: बेनी नगरपालिका–१उपल्लाचौरमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ । किसानलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक खेती गर्न नगरपालिकाको आर्थिक सहयोगमा रत्नेचौर आइपिएम किसान समूहमार्फत पाठशाला सञ्चालन गरिएको हो ।

समूहका अध्यक्ष अस्मिता बोगटीले स्थानीयस्तरमा उपलब्ध प्राङगारिक मल, गाईभैँसीको मूत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताउनुभयो ।

“तितेपाती, असुरो, खरानी, गाईभैँसीको मूत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोगकीरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने उद्देश्यले पाठशालामा सहभागी भएका हौँ,” उहाँले भन्नुभयो “रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्राङगारिक खेतीमा जोड दिएका छौँ ।”

आलु बालीमा १६ हप्तासम्म सञ्चालन हुने पाठशालामा सहभागी २५ किसानमध्ये २३ महिला छन् । हरेक हप्ताको शनिबार चार घण्टा भेला गराएर सैद्धान्तिक विषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको आइपिएम सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताउनुभयो ।

“प्रयोगात्मक अभ्यासका लागि एक रोपनी जमिनमा तीन वटा प्लट बनाएर सामूहिक आलु खेती गरिएको छ,” उहाँले भन्नुभयो, “आइपिएम, परम्परागत र प्रदर्शनी विधिबाट फरक–फरक जातका आलुका बिरुवा रोपेका छौ । जसबाट आइपिएम र परम्परागत बिधिको भन्दा फरक पहिचान गर्न सकिन्छ ।” सामूहिकका साथै किसानले व्यक्तिगत हिसाबले पनि आलु र तरकारी खेती गरेका छन् । “खेतीबालीमा शुत्रजीब मात्र हुदैन, मित्रजीव पनि हुन्छन् भन्ने ज्ञानको कमी छ,” किसन नरबहादुर थापाले भन्नुभयो “कुन जीवमित्र र शुत्र हो भन्ने पहिचान नगरी जथाभावी विषादी प्रयोग गर्दा बेफाइदा हुने भएकाले शुत्रजीवलाई जैविक विषादीबाट नष्ट गर्ने ज्ञान, सीप सिक्न पाठशालामा सहभागी भएका हौँ ।”

चालु आर्थिक वर्षमा उपल्लाचौरका साथै वडा नम्बर ६ को छाप र वडा नं ४ को राक्सेमा आइपिएम किसान पाठशाला सञ्चालन गरिएकोे बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । एक वटा पाठशाला सञ्चालन गर्न रु एक लाख पचास हजारका दरले बजेट विनियोजन भएको छ । वडा नम्बर २ को बगरफाँटमा क्षेत्रीय बाली संरक्षण प्रयोगशालामार्फत आइपिएम सञ्चालन गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?