थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

जनकपुरधाम:सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ । मधेश-प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा धनुषालाई थप एक हजार ७९ मेट्रिक टन युरिया मल उपलब्ध गराउने भएपछि हिउँदे बाली लगाएका किसानलाई राहत हुने भएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड धनुषाका निमित्त प्रमुख रविकुमार केसरीले थप युरिया मल प्राप्त हुने र मल ल्याउन यसै महिनामै बोलपत्र आह्वानको तयारी भइरहेको जानकारी दिनुभयो ।

सम्भवतः यही माघ १८ मा बोलपत्र आह्वान हुने र हिउँदे बाली उत्पादक किसान लाभान्वित हुने गरी चाँडै मल ल्याउन पहल भइरहेको उहाँको भनाइ छ । “किसानले मलको माग गरिरहेकाले हामी दबाबमा थियाैँ” केशरीले भन्नुभयो, “अब बाँकी प्रक्रिया पूरा गरेर छिट्टै मल उपलब्ध गराउँछौँ ।”

कृषि सामग्री कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा धनुषाको दक्षिणी क्षेत्रका लागि जनकपुरधाम शाखामा नौ हजार मेट्रिकटन युरिया र छ हजार मेट्रिकटन डिएपी मलको लक्ष्य तोकेको छ । हिउँदे सिजनका लागि हालसम्म एक हजार चार सय ४ मेट्रिक टन युरिया र एक हजार आठ सय ७२ मेट्रिक टन डिएपी मल प्राप्त भएकोमा एक हजार दुई सय ५३ मेट्रिक टन युरिया र एक हजार आठ सय मेट्रिक टन डिएपी वितरण गरिसकिएको केसरीले जानकारी दिनुभयो ।

“पर्याप्त र समयमै मल प्राप्त नहुँदा उसै पनि समस्या छ, त्यसैमा स्थानीय तहबाट समयमा सिफारिस नआउँदा मल विवतरणमा ढिलाइ भएको छ”, केशरीले भन्नुभयो, “हामीसँग अब करिब एक सय ५१ मेट्रिकटन युरिया र ७२ मेट्रिकटन डिएपी मल मौज्दात छ ।”

त्यसैगरी उत्तरी क्षेत्रका लागि शाखा कार्यालय ढल्केबर धनुषामार्फत् वार्षिक पाँच हजार मेट्रिकटन युरिया र दुई हजार तीन सय सय मेट्रिकटन डिएपी मल बिक्री वितरण गर्ने लक्ष्य रहेको पनि जनाइएको छ । कृषि सामग्री केन्द्रले धनुषाको दक्षिणी क्षेत्रमा जनकपुरधाम कार्यालयमार्फत् करिब ६५ प्रतिशत र जिल्लाको उत्तरी क्षेत्रमा ढल्केबर शाखामार्फत् करिब ३५ प्रतिशत मल वितरण गर्दै आएको छ ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले स्थानीय तहमा खेती भइरहेको जमिनका आधारमा निर्धारण गरेको कोटाअनुसार मल वितरण हुने गरेको छ । धनुषाका एक हजार आठ स्थानीय तहमध्ये खेती भइरहेको जमिनका आधारमा लक्ष्मीनियाँ गाउँपालिकाले सबैभन्दा बढी र जनकनन्दनी गाउँपालिकाले सबैभन्दा कम कोटा मल पाइरहेका कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले जानकारी दिनुभयो ।

कूल ७५ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा ५३ हजार आठ सय २५ हेक्टरमा धान र ३६ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती भइरहेको कृषि ज्ञान केन्द्र धनुषाको तथ्याङ्क छ । पर्याप्त र समयमै मल आपूर्ति नहुँदा देशभरीमा जस्तै यहाँका किसानले पनि समस्या झेल्दै आएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?