केरा खेतीबाट मनग्य आम्दानी

केराखेतीमा गवाँरो रोग

महेन्द्रनगर:कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार बर्ष भयो । विसं २०५२ मा समान्यरूपमा केरा खेती गर्दै आउनुभएका उहाँले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि प्राप्त कमाइले कमाइ राम्रै हुँदै आएको बताउनुभयो ।

हाल आठ बिघा जमिनमा केरा खेती गरिरहनुभएका चौधरीले बार्षिक रु १६ लाखदेखि रु २० लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । “राम्रो मूल्य पाए सबै खर्च कटाएर बार्षिक रु बीस लाखसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “ केराबाट भएको कमाइले घर खर्च चलाउनेदेखि छोराछोरीलाई शिक्षामा लगानी गर्न पाउँदा म सन्तुष्ट छु ।”
एक कठ्ठा जमिनमा केरा खेती गर्नुभएका चौधरीले अहिले केराको बेर्नासमेत उत्पादन गर्ने नर्सरी सञ्चालन गर्नुभएको छ ।

“चार÷पाँच बर्षअघि नर्सरी बनाउँदा कृषि ज्ञान केन्द्रबाट रु दुई लाख र कृष्णपुर नगरपालिकाबाट रु एक लाख अनुदान मिलेको थियो ।” उहाँले “ त्यो बाहेक केरा खेतीका लागि अहिलेसम्म कहिकतैबाट सहयोग वा अनुदान पाइएको छैन् ।”आठ बिघा जमिन लिजमा लिएबापत बार्षिक रु तीन लाख २० हजार भाडा तिर्दै आउनुभएका चौधरीले उत्पादित केरा महेन्द्रनगर, धनगढी र अत्तरीयाका थोक व्यापारीले खरिद गर्ने गरेको जानकारी दिनुभयो ।

समयमै मल र सिँचाइको व्यवस्था भए प्रतिबिघा जमिनमा बार्षिक रु सात÷आठ लाखसम्मको केरा उत्पादन हुन्छ तर बजार मूल्यमा हुने उतारचढावका कारण किसानहरू समस्या पर्ने गरेको उहाँले बताउनुभयो ।

“भारतीय केराको आयात रोकेर स्थानीय किसानलाई मात्रै सहज गराइदिए दुई बर्षमा केरा उत्पादक किसानको स्तर धेरै माथि आउँथ्यो ।” उहाँले भन्नुभयो, “पछिल्लो समय केरा उत्पादनमा लागेका किसान केराको बीमा नहुँदा चिन्तामा छन् ।”

गत बर्ष केरा खेतीको बीमा भएपनि चालु आर्थिक वर्षमा बीमा कम्पनीले केराको बीमा गर्न आनाकानी गरिरहेको चौधरीको गुनासो थियो ।

“ सामान्य हुरी आउँदा पनि केराका बोट ढल्छन्”, उहाँले भन्नुभयो, “ बीमा नहुँदा जोखिम बढेको छ ।” एसएलसीसम्मको अध्ययन गर्नुभएका चौधरीले केराबाट भएको आम्दानीबाट दुई छोरालाई स्तरीय शिक्षा दिन सकेकोप्रति खुसी व्यक्त गर्नुभयो ।“ केराकै कमाइले एउटा छोरा इन्जिनियरसम्म बन्यो”, उहाँले भन्नुभयो, “सामान्य किसानको छोराले माथिल्लो तहसम्म अध्ययन गराउन सक्नु मेरा लागि ठूलै कुरो हो ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments