अण्डा दिने कुखुरालाई साँघुरो खोरमा नराख्न अभियान

राँझा:अण्डा दिने कुखुरालाई साँघुरो खोरमा थुनेर नपाल्न बाँकेमा अभियान सञ्चालन गरिएको छ । पशुपक्षीको अधिकार तथा संरक्षणमा वकालत गर्दै आएको एनिमल नेपालले अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडा मुक्त गर्ने अभियान सञ्चालन गरेको हो ।

उक्त अभियानअन्तर्गत बाँकेमा कुखुरा व्यवसायीलगायत सरोकारवालासँग पशु कल्याण सुनिश्चिताको विषयलाई उठान गर्दे अण्डा उत्पादन गर्ने कुखुरालाई पिँजडा मुक्त अभियानका बारेमा समन्वय तथा सहकार्य सुरु गरेको एनिमल नेपालका कार्यक्रम संयोजक तथा पिँजडा मुक्त कुखुरा अभियानका अभियानकर्मी मधु कट्टेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पशुपक्षी कल्याणको विषयमा सरोकारवालाको ध्यान जान नसक्दा अण्डा उत्पादन गर्ने कुखुराले साँघुरो खोरमा हलचल गर्न नपाउने गरी राखिँदा सास्ती भइरहेकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै अण्डा उत्पादन गर्ने कुखुराका लागि पिँजडा मुक्त अभियान सुरु गरिएको हो ।

“कुखुरा भनेको पखेटा फिजाएर खुल्ला रुपमा आफ्नो चारो आफैँ खोज्ने पक्षी हो, तर व्यापार गर्ने नाउँमा कुखुरालाई हलचलसम्म गर्ने स्थान नदिएर आजीवन जबर्जस्ती अण्डा दिन उत्पादन गरिन्छ”, उहाँले भन्नुभयो, “कुखुरा पनि जीवित पक्षी भएकाले मानिस जस्तै दुखाइभोगाइ महसुस गर्छन्, तर मानिसले व्यापार व्यवसायमा फाइदाका लागि कुखुरा पनि जीवित पक्षी हो भन्ने बिर्सिएको छ ।”

अण्डा उत्पादन गर्ने कुखुरालाई लामो समय एउटै पिँजडामा थुनेर राख्दा खानयोग्य अण्डा उत्पादन नहुने बताउँदै यो अभियान सफल बनाउन सरोकारवालाको साथको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

कुखुरालाई सास्ती दिएर जबर्जस्ती उत्पादन गरिएको अण्डा मानिसका लागि भिटामिन योग्य नहुने वरिष्ठ पशु चिकित्सक डा अतिसकुमार यादवले बताउनुभयो । “पशुपक्षीका लागि आहारको राम्रो व्यवस्था हुनुपर्छ, राम्रो वातावरणमा बस्न पाउनुपर्छ, उसको स्वास्थ्यको ख्याल गर्नुपर्छ, जनावरको व्यवहारअनुसार स्वतन्त्र भएर बाँच्न दिनुपर्छ”, वरिष्ठ पशु चिकित्सक यादवले भन्नुभयो, “पशु स्वस्थ छ भने मात्र त्यसबाट उत्पादित वस्तु (दूध, मासु, अण्डा) स्वस्थ हुन्छ, अस्वस्थ पशुपक्षीबाट उत्पादित वस्तु खाँदा मानव जीवनका लागि हानिकारक हुने गर्दछ ।”

पशु कल्याणको क्षेत्रमा विगत १३ वर्षदेखि काम गरिरहेको एनिमल नेपालले बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा पशु कल्याणको काम गरिरहेको नगरप्रमुख प्रशान्त बिष्टले बताउनुभयो । उहाँले एनिमल नेपालले अगाडि सारेको अभियानमा उपमहानगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments