भीमदत्तमा कृषि क्षेत्र जमिन चार प्रतिशत

‘आलु भण्डारण केन्द्र’

दोधारा चाँदनी:कञ्चनपुरको भीमदत्त नगरपालिकाले भू–उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेको छ ।

नगरपालिकाले गरेको जग्गाको वर्गीकरण अनुसार भीमदत्तमा कृषि क्षेत्र जमिन न्यून छ । नगरपालिकाले छुट्याइएको कृषि क्षेत्रको जमिन चार दशमलव दुई प्रतिशत छ । तराईको अन्नभण्डारको रुपमा रहेको कञ्चनपुरमा कृषि क्षेत्रको जग्गा खण्डीकरण हँुदै गएको छ । भीमदत्तले गरेको वर्गीकरण अनुसार सबैभन्दा बढी आवासीय क्षेत्र ६१.२१ प्रतिशत छ ।

त्यसैगरी व्यावसायिक २.४, सांस्कृतिक ०.०८, जङ्गल ०.९, तालतलैया १.७, औद्योगिक ०.०४, खनिज ०.०१, सार्वजनिक २९.३६ र अन्य ०.०९ प्रतिशत जग्गा छ । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले आवासीय क्षेत्र बढी भएका कारण कृषि क्षेत्रको जग्गा घटेको बताउनुभयो । “सबैलाई वैंकिङ् कारोबारका लागि बाटो चाहियो, मापदण्ड अनुसार बाटो भएको जग्गा आवासीय क्षेत्रमा पर्छ”, उहाँले भन्नुभयो, “आवासीय जग्गा बढी भएकै कारण कृषि क्षेत्रको जग्गा न्यून भएको हो ।”

नगरपालिकाभित्रको जग्गा संरक्षण गर्न र खण्डिकरण हुन नदिन जग्गालाई आवासीय र कृषि क्षेत्रलगायत दश वटा क्षेत्रमा वर्गीकरण गरिएको नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताउनुभयो । उहाँका अनुसार १९ वटै वडामा रहेका व्यक्तिगत तथा सार्वजनिक जमिनको कित्ता अनुरुप जग्गा वर्गीकरण गरिएको हो । “नगरपालिकाको भू–उपयोग नीति अन्तर्गत ९७ हजार एक सय ५२ कित्तालाई हामीले भू–उपयोग ऐन २०७६ तथा भू–उपभोग नियमावली २०७९ को मापदण्डका आधारमा जमिनको वर्गीकरण गरेका छौँ”, उहाँले भन्नुभयो, “जग्गा वर्गीकरण गरेसँगै लामो समयदेखि बन्द रहेको कित्ताकाट खुला भएको छ ।”

उहाँले कसैको जग्गा कृषि हुनुपर्नेमा आवासीय भए वा भू–उपयोग क्षेत्र परिवर्तन गर्नुपरे सम्बन्धित व्यक्तिले परिवर्तन गर्नुपर्ने कित्ताको विवरणसहित नगरपालिमा निवेदन दिनुपर्ने बताउनुभयो । “स्थानीय भू–उपयोग परिषद्को बैठकमा भू–उपयोग क्षेत्र परिवर्तनका लागि ती कित्ताको विवरण पेस गर्छ र प्रदेश भू–उपयोग परिषदमा पठाउछ”, प्रवक्ता खड्काले भन्नुभयो, “सङ्घीय भू–उपयोग परिषदले औचित्य पुष्ठि भएपछि कित्ता परिवर्तन गर्न स्वीकृत दिन्छ ।” नगरपालिकाले भू–उपयोग क्षेत्रको कित्तागत वर्गीकरण सम्पन्न गरी वर्गीकरण विवरण मालपोत कार्यालय,नापी कार्यालय हस्तान्तरण गरेपछि कित्ताकाट खुलेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments