शिक्षण पेसासँगै ‘ड्रागन फ्रुट’को खेती

अन्नपूर्ण (कास्की):पोखराका शिव गौतम शिक्षण पेसासँगै ड्रागन फ्रुटको खेतीमा व्यस्त हुनुहुन्छ । पढाउने कामबाट फुर्सद हुनेबित्तिकै उहाँ पोखरा महानगरपालिका–३३ बागमारामा रहेको फार्ममा पुग्नुहुन्छ । त्यहाँ गौतमले पाँच रोपनी जग्गा भाडामा लिएर यसको खेती गर्नुभएको छ ।

उहाँले बागमारामा मातृभूमि कृषि फार्म दर्ता गरेर व्यवसाय सुरु गर्नुभएको हो । फार्ममा यतिबेला पाँच सयभन्दा बढी ड्रागन फलको बिरुवा हुर्किरहेका छन् । अधिकांश बिरुवाले यो वर्षदेखि नै उत्पादन दिएको उहाँले बताउनुभयो ।

कोरोनापछिको लकडाउनले यो खेतीप्रति रुचि बढेको उहाँ सुनाउनुहुन्छ । शिक्षण पेसामा आबद्ध उहाँ लकडाउनमा धेरै मात्रामा अनलाइनतिरै व्यस्त हुन थाल्नुभयो । त्यही क्रममा ड्रागनका बारेमा सामाजिक सञ्जालमा भिडियो देख्नुभयो । युट्युबमै भएको नम्बरमा फोन गर्दा पोखरामा पनि हुने सुझावपछि हौसिएर बागमारातिर जग्गा खोज्न हिँडेको उहाँले बताउनुभयो ।

त्यही समयमा जग्गा भाडामा लिएर बिरुवा लगाउनुभयो । अहिले उहाँलाई सोचेजस्तै भएको छ । “फुर्सदको समयमा युट्युब हेर्दै जाँदा दाङको लोकेन्द्र विष्टको मन प¥यो”, उहाँले भन्नुभयो, “अनि उहाँसँग सल्लाह भयो । चैतमा उहाँलाई भेट्नै गएँ अनि विष्टले भनेझै बिरुवा लगाएँ अनि राम्रो नि हँुदै गएको छ ।”

उहाँले आफ्नो फार्म जग्गामा रातो र सेता प्रकारको फ्रुट लगाउनुभएको छ । जसमा ८० वटा सेतो र बाँकी रातो छन् । “एउटा पोलमा दुईवटा बिरुवा लगाउन मिल्छ”, उहाँले भन्नुभयो, “४० वटामा सेतो बिरुवा छ अरुमा रातो छ ।”

नेपाली बजारमा नयाँ फल भए पनि बजारको समस्या नरहेको गौतम बताउनुहुन्छ । उहाँले पहिलो सिजनमा एक सय ५० किलोग्राम उत्पादन गरेको बताउनुभयो । उहाँका अनुसार यो फ्रुट बजारमा प्रतिकिलो रु छ सयदेखि बाह्र सयसम्म बिक्री हुन्छ । “पोखरा पर्यटकीय राजधानी पनि हो त्यसैले यसको व्यापार व्यावसायमा कुनै समस्या नपर्नेमा म ढुक्क छु”, उहाँले भन्नुभयो, “मैले पहिलो सिजनमा एक सय ५० किलो जति उत्पादन गरेँ अनि रु ६० हजारको बिक्री गरेँ ।” बाँकी केही आफन्तलाई चखाएको र केही चोरी भएको उहाँले सुनाउनुभयो ।

बहुउपयोगी फलका रूपमा चिनिएको यो फूल फुलेको तीन दिनमा झर्ने र करिब ४० दिनमा फल पाकेर खानयोग्य हुन्छ । बिरुवा रोपेको तीन वर्षदेखि फल दिन थाल्छ । एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिन्छ ।

पहिलो सिजनमा राम्रो उत्पादन भएकाले अझै केही बिरुवा थप्ने उहाँको योजना छ । बिदाको समयमा आफैँ फार्ममा पुगेर काम गरे पनि अन्य समयमा काम गर्न उहाँले दुई कामदार राख्नुभएको छ । पोखरामा सफल परीक्षण भइसकेका कारण अरुलाई घरको छतसँगै व्यावसायिकरूपमै खेती गर्न उहाँको सुझाव छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments