प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो

नवलपुर:चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहास्थित घडियाल प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको छ ।

विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले बिहीबार दुई भाले घडियाल तथा १८ पोथी घडियाल राप्ती नदीमा छाडेको हो । प्राकृतिक बासस्थानमा छाडिएको घडियालमध्ये तीन वटा छ वर्ष उमेरका रहेका निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो । बाँकी १७ घडियाल गोही सात वर्ष उमेरका रहेको उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले हालसम्म जम्मा एक हजार सात सय १२ गोही प्रकृतिक बासस्थानमा छाडेको छ । “यो भन्दा पहिला राप्ती नदीमा नौ सय ७२, नारायणी नदीमा चार सय १९, कालीगण्डकी नदीमा ३५, सप्तकोसी नदीमा एक सय १५, कर्णाली नदीमा ४१ र बबई नदीमा एक सय १० गरी जम्मा एक हजार छ सय ९२ गोही हामीले छाडिसकेका छौँ”, उहाँले भन्नुभयो, “बिहीबार छाडिएको २० गोहीसहित अहिलेसम्म हामीले एक हजार सात सय १२ गोहीलाई प्राकृतिक बासस्थानमा छोडेका छौँ ।”

तिवारीले सङ्कटापन्न अवस्थाका गोही प्रकृतिक बासस्थानमा छाडेपछि उनीहरूको अवस्थाबारे निकुञ्जले अनुगमन गर्ने गरेको भए पनि राष्ट्रियस्तरबाट अनुगमन हुनुपर्ने बताउनुभयो । “घडियाल गोहीले लामो दूरी विचरण गर्ने गरेको हामीले पाएका छौँ”, तिवारीले भन्नुभयो, “नारायणी तथा राप्तीमा छाडिएका घडियाल घुम्दैफिर्दै भारत हुँदै कोसीसम्म पुग्न सक्ने देखिन्छ ।” नदीबाट बग्दै जाँदा गण्डक ब्यारेज कटेर भारततर्फ पसेपछि नारायणी नदीमा घडियाल फर्किनसक्ने अवस्था नभएको उहाँले बताउनुभयो ।

घडियाल गोही अहिले नेपाल र भारतमा मात्रै पाइने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र न्यौपानेले बताउनुभयो । प्राकृतिक बासस्थानमा गोहीले फूल पारेर बच्चा निकाल्न असुरक्षित हुने गरेपछि निकुञ्जले नदी किनारबाट गोहीका अण्डा टिपेर निकुञ्जको प्रजनन केन्द्रमा लगेर अण्डाबाट प्रजनन गराउने र बच्चा हुर्काउने गरेको उहाँको भनाइ छ । यसरी हुर्किएका गोहीलाई छ वर्षको उमेर भएपछि प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको आचार्यले बताउनुभयो । यस वर्ष पनि सयभन्दा बढी घडियालका बच्चा प्राकृतिक बासस्थानमा छाड्ने तयारी भइरहेको निकुञ्जले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?