पुर्ख्याैली थलोमा चार करोड लगानीमा पशुपालन गर्दै विष्णुप्रसाद

किसानलाई भैँसी

वालिङ:स्याङ्जाको फेदीखोला गाउँपालिका-१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आउनुभएको छ । किराना पसल सञ्चालन गर्दै आउनुभएका उहाँ अहिले पुर्ख्याैली थलोमा पशुपालन सुरु गर्नुभएको हो ।

उहाँले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ दर्ता गरी १० वटा भैँसीबाट व्यवसाय थाल्नुभएको हो । बजारमा किराना पसल सञ्चालनमा रहेको भए पनि गाउँमा भएको जग्गाको सदुपयोग गर्नका लागि पशुपालनमा हात हालेको उहाँ बताउनुहुन्छ ।

“फेदीखोला बजारमा किराना पसल अहिले पनि छ”, उहाँले भन्नुभयो, “गाउँको जमिन सदुपयोगका साथै बजारमा दूधको माग अत्यधिक रहेकाले पशुपालन सुरु गरेको हुँ ।”

सुरुमा गोठ बनाउने, भैँसी खरिद गर्ने, घाँस, पराल तथा दाना खरिदमै करिब रू दुई करोड लगानी लागेको उहाँको भनाइ छ । फार्मबाट प्राप्त आम्दानी तथा लगानी थप गर्दै गाई भैँसी खरिद गर्नुभएको हो । दश भैँसी पालेर व्यावसायिकतातर्फ उन्मुख हुनुभएका पोख्रेलको फार्ममा अहिले एक सय ८५ वटा गाई र भैँसी छन् । जसमध्ये एक सय दुहुना भैँसी, ५० वटा राँगा तथा पाडापाडी छन् साथै २० वटा दुहुना गाई र १५ वटा बाच्छाबाच्छी छन् ।

फार्म पन्ध्र रोपनीमा फैलिएको छ । जग्गा भाडामा लिएर गाई भैँसीका लागि घाँस उत्पादन गर्नुभएको छ भने झण्डै एकसय रोपनी अरुको जग्गा भाडामा लिएर डालेघाँस, खर घाँस तथा उन्नत खालका घाँस लगाउनुभएको छ ।

उहाँको फार्मबाट अहिले भैँसीको दूध चार सय लिटर र गाईको दूध एक सय लिटर उत्पादन हुँदै आएको छ । भैँसीको दूध फेदीखोला, मट्टिखान, सेतीदोभान, खड्केटारी, पोखरालगायतका स्थानीय बजारमै खपत हुने गरेको उहाँले बताउनुभयो ।
“दूधको बजारका लागि कुनै समस्या छैन बरु स्थानीय बजारमा माग भएअनुसार दूध पु¥याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “दूधको माग धान्न पनि अझै ४० वटा गाई थप्ने तयारी गरिरहेको छु ।”

भैँसीको दूध स्थानीय बजारमा खपत हुने गरेको छ भने गाईको दूध पोखरा औद्योगिक क्षेत्रमा दिएको उहाँको भनाइ छ । दूध बिक्रीबाट अहिले उहाँले मासिक रू १५ लाख आम्दानी हुने उहाँको भनाइ छ । सुरुका वर्ष भएकाले गाईभैँसी खरिद, दानापानी, परालमा किन्नुका साथै पूर्वाधार निर्माण गर्नुपरेकाले त्यसैमा लगानी गरेको उहाँले बताउनुभयो । फार्ममा हाल १३ जना कार्यरत छन् ।

“यहाँ उत्पादन भएको दूध बजारमा पूरै खपत भएकाले पनि दूधबाहेक अन्य सामग्री बनाएर बिक्री गर्ने तत्काल कुनै योजना छैन”, उहाँले भन्नुभयो । पशुपालनलाई व्यावसायिकरुपमा अगाडि बढाउँदै जाँदा बजारको कुनै समस्या नभएपछि थप ऊर्जा र जाँगर थपिँदै गएको महशुस गर्नुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?