‘बिचौलिया नियन्त्रणका लागि लाइसेन्स आवश्यक’:कृषिमन्त्री ज्वालाकुमारी

चितवन:कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा भएको बिचौलिया अन्त्यका लागि अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । उहाँले लाइसेन्सप्राप्त व्यक्तिले मात्रै कृषिजन्य वस्तु खरिद तथा बिक्री गर्न पाउने गरी नीतिगत व्यवस्था गरिने उहाँको भनाइ छ ।

राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको तेस्रो आज यहाँ आयोजित साधारणसभा तथा अधिवेशनमा बोल्दै उहाँले कृषिजन्य वस्तुको आयात रोक्न नाकामा प्रयोगशाला र चेकजाँचको माध्यमबाट सरकारले कडाइ गर्ने बताउनुभयो । किसानका समस्या समाधानका लागि नीतिगत तहदेखि नै आफूले प्रयास गर्ने उहाँको भनाइ छ ।

कृषिमा भएको लगानीअनुसार मूल्य नपाउँदा युवा विदेशिनु परेको भन्दै उहाँले यसको नियन्त्रणका लागि आफ्नै माटोमा रमाउने खालका कार्यक्रमहरु ल्याउने योजनामा सरकार रहेको बताउनुभयो । कृषि क्षेत्रमा राज्यले नेतृत्व र नियन्त्रण गर्न नसके अझै समस्या आउने उहाँको भनाइ छ ।

उहाँले चितवनका किसानले सडकमा तरकारी फालेर आन्दोलन गर्नु राम्रो नभएको भन्दै समस्या समाधानका लागि सरकार तयार रहेको र यस विषयमा प्रधानमन्त्रीले समेत चासो दिनुभएको जानकारी दिनुभयो । “वास्तविक समस्या के हो भन्ने बुझेर रिपोर्टसहित ल्याउन प्रधानमन्त्रीको निर्देशन छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक रामचन्द्र अधिकारी, किसान सङ्घका केन्द्रीय अध्यक्ष गणेश तिमिल्सिना, नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहाल, जिल्ला दुग्ध उत्पादक सहकारी सङघ चितवनका अध्यक्ष किशोर वगाले, समाजका अध्यक्ष आनन्द न्यूरे, सल्लाहाकार भेषराज पाण्डे, समाजका पवबक्ता हरि अधिकारीलगायतको सहभागिता थियो ।

माघ २३ सम्म सञ्चालन हुने अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । प्रदेश संयोजकसहित ९९ सदस्यीय नयाँ नेतृत्व चयन हुनेछ । समाजको ३२ जिल्लामा शाखा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?